चिया निर्यातमा अवरोध हुँदा ८० भन्दा बढी उद्योग बन्द अवस्थामा : उद्योग वाणिज्य महासङ्घ मौन


काठमाडौँ । भारतले चिया निर्यातमा अवरोध गर्दा र पूर्वका ८० भन्दा बढी उद्योग बन्द हुने अवस्थामा पुगे पनि नेपाल उद्योग वाणिज्य महासङ्घ भने मौन बसेको छ ।

भारतीय चिया बोर्डले गत मे १ देखि लागु गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यावहारिक मापदण्डका कारण नेपालबाट हुने चिया निर्यात हाल पूर्ण रूपमा ठप्प भएको छ । यस अवरोधका कारण पूर्वी नेपालका ८३ वटा चिया कारखानाहरू बन्द हुने अवस्थामा पुगेको छ ।

इलामको सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगले असार १ गते देखि उत्पादन बन्दको घोषणा गरिसकेका छन् भने नेपाल चिया उत्पादक सङ्घले असार ४ गतेदेखि झापाका साना ठुला गरि ३० ओटा उद्योग र एक दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरिसकेको छ ।

यो विषय संसदमा समेत उठिरहेको छ तर निजी क्षेत्रको छाता उ सङ्गठन वाणिज्य महासङ्घ भने मौन बसेको छ । नेपाल चिया उत्पादक सङ्घ महासङ्घको वस्तुगत सदस्य हो ।

पूर्वबाट महासङ्घमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले शिर्ष नेतृत्वको ध्यानकर्षण गराए पनि महासङ्घले आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।

एक केन्द्रीय सदस्यले भने,“महासङ्घले यस्तो बेला अगुवाई गरेर सरकारलाई पहलका लागि दबाब दिन सक्थ्यो । हामीले जानकारी त गराएका छौँ केही धारणा त आउँछ होला ।”

चियामात्रै नभएर अलैली अदुवा अम्लिसो निर्यात गर्दा भन्सारमा बेला बेलामा समस्या देखिने गरेको छ ।

पूर्वी नेपालबाट उद्योग वाणिज्य महासङ्घमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्यहरूले यो समस्या निरन्तर देखिने गरेको भन्दै स्थायी समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्का एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने,“यस्ता विषय पटकपटक दाहोरिरहेका छन् । महासङ्घले यस्ता विषयमा सरकारलाई आग्रह गर्न सक्छ, कूटनीतिक पहलका लागि दबाब दिन सक्छ । नेतृत्वले केही सोंचेको होला ।”

महासङ्घले यस्ता मुद्दामा अगुवाइ गर्नुपर्नेमा अहिलेसम्म कुनै धारणासमेत सार्वजनिक नगरेपछि चिया उद्योगीहरूसमेत असन्तुष्ट बनेका छन् ।