बैंक तथा वित्तीय संस्थाहरूले ‘ह्विसलब्लाेइङ’ प्रणालीको व्यवस्था गर्नुपर्ने


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले ‘ह्विसलब्लाेइङ’ प्रणालीको व्यवस्था गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लागि नमुनाको रूपमा जारी गरेको कर्मचारी विनियमावली संशोधन परिमार्जन र थप गरी संशोधित मस्यौदामा यस्तो व्यवस्था राखिएको हो ।

बैंक वा वित्तीय संस्थाले कर्मचारीहरूले आफूसमक्ष आएको कुनै पनि ठगी, भ्रष्टाचार, अनियमितता, पदको दुरुपयोग वा अन्य कुनै पनि दुव्र्यवहारसम्बन्धी कार्यहरू खुलासा गर्नका लागि ह्विसलब्लोइङ प्रणालीको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको हो ।

ह्विसलब्लोइङ भनेको संस्था भित्रको गैरकानूनी, अनैतिक वा असुरक्षित आचरणको बारेमा अधिकारीहरू, नियामकहरू वा आन्तरिक अनुपालन टोलीहरूलाई रिपोर्ट गर्ने हो । यसमा सामान्यतया सार्वजनिक हितलाई खतरामा पार्ने मुद्दाहरू समावेश हुन्छन् । जसमा धोखाधडी, घोर कुप्रबंधन वा स्वास्थ्य र सुरक्षा जोखिमहरू रहन्छन्।

उक्त प्रणालीमार्फत कर्मचारीहरूले सत्य निष्ठाका साथ दिइएको जानकारीका आधारमा कुनै पनि कर्मचारीमाथि विभेद, त्रास, दबाब वा अनुचित कारवाही नगर्ने जनाइएको छ ।

सूचना दिने कर्मचारीको पहिचानलाई आवश्यक कानुनी वा अनुसन्धान प्रयोजनबाहेक गोप्य राखिने छ भने गम्भीर प्रकृतिका दुव्र्यवहारहरूबारे जानकारी हुँदाहुँदै पनि रिपोर्ट नगर्नु आचरणको उल्लंघन मानिने उल्लेख गरिएको छ ।

ह्व्सिलब्लोइङ प्रणालीमा आएका खुलासाहरुको दर्ता गरी विवरण तयार पारी प्रमुख कार्यकारी अधिकृतसमक्ष पेश गर्न मानव संसाधन विभागमा तोकिएको कर्मचारीको व्यवस्था गर्नुपर्नेछ । उक्त विवरणहरु उपर आवश्यक अनुसन्धान गर्न प्रमुख कार्यकारी अधिकृतले व्यवस्था मिलाउनु पर्नेछ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्नुपर्ने भएको छ । त्यसैगरी व्यवस्थापकीय पद भनी तोकिएका पदहरु समेत रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्नुपर्ने जनाइएको छ ।

बैक÷वित्तीय संस्थाको स्वामित्व भएको निकाय वा संस्थामा कर्मचारीलाई काजमा खटाउन पाइने भएको छ ।