काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थाले संचालक र उच्च व्यवस्थापकीय तहमा नियुक्त वा मनोनयन हुँदा विभिन्न विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले संचालक, प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा विभिन्न विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाएको हो ।
सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा गर्नुपर्ने यदि भएको भए सोको विवरण, अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा, स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा राष्ट्र बैंक समक्ष समेत पेश गर्नुपर्नेछ ।
स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा, विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण, वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण राष्ट्र बैंक समक्ष समेत पेश गर्नुपर्नेछ ।
हाल रहेका संचालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहको पदाधिकारीहरूले पनि सोही विवरण लिएर राष्ट्र बैंक समक्ष समेत पेश गर्नुपर्नेछ भने यदि विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई यस पेश गर्नुपर्ने जनाइएको छ ।
यस्तै, एक पटक वा पटक पटक गरी चुक्ता पूँजीको कुल पाँच प्रतिशत वा कुल २५ लाख रूपैयाँभन्दा बढी कायम हुने गरी संस्थापक शेयर खरिद वा नामसारी गर्दा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको
पनि विभिन्न विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने भएको छ ।
सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा र यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा गर्ने यदि भएको भए सोको विवरण राष्ट्र बैंक समक्ष समेत पेश गर्नुपर्नेछ ।
अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा, स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा, स्वार्थको द्वन्द्व हुनसक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा, विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण, वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाइएको छ ।
शेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारीको समेत विवरण लिनुपर्नेछ ।
यो निर्देशन जारी हँुदाका बखत कुल पाँच प्रतिशत वा कुल २५ लाख रूपैयाँभन्दा बढीको शेयर धारण गरेका तथा शेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारी विवरण लिई राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्नेछ ।
यदि विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्