काठमाडाैँ । सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा भूवनबहादुर सुनारले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिएका हुन् ।
गृहमन्त्रीकाअनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन र पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै गृहमन्त्रीले विकको मृत्युको कारण आत्महत्या देखिएको स्पष्ट पारे ।
उनले भने, “पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्यासँग मेल खाने उल्लेख गरिएको छ। साथै, हिरासतमा रहँदा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको छानबिन प्रतिवेदनमा जनाइएको छ ।”
छानबिन समितिले दिएका अन्य आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको छ । उक्त क्रममा गृहमन्त्रीले जातीय भेदभाव तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि नेपाल प्रहरीभित्र ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको समेत बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पीडितमैत्री अनुसन्धान गरी नागरिकमा विश्वास जगाउने उनको भनाइ थियो । सांसदले उठाएका प्रश्नप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रीले यस प्रकरणलाई अझ गहिरो गरी अध्ययन गरिने र प्राप्त हुने थप जानकारीबारे पुनः सदनलाई अवगत गराइने प्रतिवद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्