उद्योग वाणिज्य महासङ्घको तीन विषयगत समिति सभापतिमा लगभग सहमति, प्रभावशाली समितिमा कोको ?


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत विषयगत समिति गठनको तयारी भइरहँदा महत्वपूर्ण समितिमा विभिन्न सदस्यहरूले आआफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष श्रेष्ठले समिति गठनको छलफललाई तीव्रता दिइरहेका बेला समिति नेतृत्वका लागि आकाङ्क्षीहरूले आफ्नो दाबी बढाएका हुन् ।
अहिलेसम्म तीन समितिको सभापतिको नाम लगभग टुङ्गो लागेको छ ।

स्रोतकाअनुसार कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, निर्यात प्रवर्धन समिति सभापतिमा होमप्रसाद घिमिरे र स्थल यातायात तथा पारवाहन समिति सभापति रविन पुरी बन्ने लगभग पक्का भएको छ ।

महासङ्घभित्र राजस्व र निर्यात प्रवर्धन र पारवहन समिति शक्तिशाली मानिन्छन् ।

राजभण्डारी तेस्रो पटक महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचित भएका हुन् भने भण्डारी र पुरीले दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

महासङ्घभित्र प्रभावशाली मानिएको र अन्तराष्ट्रिय निकाय तथा सरकारसँग प्रत्यक्ष सम्बन्ध राखेर परियोजनासमेत सञ्चालन गर्ने कृषि उद्यम केन्द्रको नेतृत्व भने वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य वा शिवप्रसाद घिमिरेमध्ये एकजनालाई जिम्मा दिने अध्यक्ष श्रेष्ठको तयारी छ ।

शिक्षा, सीप विकास तथा रोजगार समिति सभापतिमा राजकुमार कार्कीलाई प्रस्ताव गरिएको छ ।

शिक्षा, सीप विकास तथा रोजगार समिति व्यावसायिक र रणनीतिक हिसाबले महासङ्भित्र महत्वपूर्ण समिति मानिन्छ । यो समितिले उद्योग र श्रम बजार जोड्ने मुख्य पुलको रूपमा हेरिन्छ ।

देशको श्रम ऐन, रोजगारी नीति र सीप विकासका एजेन्डाहरूमा यो समितिले सरकारसँग प्रत्यक्ष संवाद र लबिङ गर्छ गर्न सक्छ भने निजी क्षेत्रलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने विषय सरकार र योजना आयोगसमक्ष पु¥याउन महत्वपूर्ण भूमिका हुन्छ ।

यस्तै स्वास्थ्य तथा प्रकोप व्यवस्थापन समिति सभापतिमा विप्लव अधिकारीलाई प्रस्ताव गरिएको छ । धेरैजसो समितिको नेतृत्व यसै हप्ताभित्र टुङ्ग्याउने अध्यक्ष श्रेष्ठको तयारी छ ।

महासङ्भित्र ४ ओटा परिषद्, बढीमा २५ ओटा विषयगत समिति र ४ ओटा फोरम (अघिल्लो कार्यकालकाअनुसार) छन् ।

महासङ्घको बोर्ड बैठकले थप विशेष समिति वा कार्यदलहरू पनि गठन गर्न सक्ने वैधानिक व्यवस्था छ । परिषद भने उपाध्यक्षले नेतृत्व गर्ने विधानमा व्यवस्था छ ।