उद्योग वाणिज्य महासङ्घभित्र समिति सभापति चयनमा गोदावरी गोप्य बैठकको प्रभाव,कित्ता परिवर्तन गर्दा अवसर


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार सल्लाहकारसहित परिषद्हरू र विभिन्न समितिका सभापतिहरू मनोनित गरेको छ ।

समिति सभापतिसम्म आउँदा चुनावी समिकरणको तेस्रो चरण मात्रै पुरा भएको छैन कतिपयले आफ्नो समूहसमेत परिवर्तन गरेका छन् ।
गत वैशाखमा काठमाडौँमा भएको साधारण सभाबाट महासङ्घमा नयाँ नेतृत्व भएको आएको थियो ।

महासङ्घभित्र विभिन्न परिषद्,समिति र फोरमहरू छन् । महासङ्घको ‘इन्जिन’को भूमिका निर्वाह गर्ने समिति सभापति चयन गर्दा समूह अदलबदलको समेत भएको छ ।

हेमराज ढकाल समूहबाट चुनाव लडेका विप्लव अधिकारी, विदुर धमला र लिलेन्द्रप्रसाद प्रधानले समिति सभापतिको जिम्मेवारी पाउँदा तीन पटक चुनाव जितेका भक्त हमाल बाहिर परेका छन् ।

स्थल यातायात तथा पारवहन समिति पक्का भएका र अञ्जन समूहबाटै चुनाव लडेका रविन पुरीलाई अर्को समूहबाट चुनाव लडेर आएका लिलेन्द्रप्रसाद प्रधानले विस्थापित गरिदिएका छन् । पुरीलाई अर्को समितिको जिम्मेवारीमा अल्झाइएको छ ।

गोदावरी गोप्य बैठकको प्रभाव

चुनावका बेला महासङ्घभित्र अञ्जन र हेमराज ढकाल समूह थियो । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा तीनओटा समूह सक्रिय भयो । आफ्नै समूहमा एसोसिएट्स उपाध्यक्ष बनेका प्रबलजंग पाण्डेले अर्को समूह बनाएपछि अध्यक्ष अञ्जन श्रेष्ठ दबाबमा परेका थिए ।

भोट तलमाथि हुने खतरा देखेपछि सदस्यहरूलाई ललितपुर गोदावरीको एउटा रिसोर्टमा लगेर राखिएको थियो । अध्यक्ष अञ्जनसहित बसेको ठाउँमा हेमराज ढकाल समूहबाट चुनाव जितेका विदुर धमला र विप्लव अधिकारी गोप्य छलफल गर्न पुगेका थिए ।

स्रोतकाअनुसार सोही बैठकबाट धमला र अधिकारीले समूह परिवर्तन गर्ने सहमति भएको थियो । सोही गोप्य छलफलको सहमतिअनुसार धमला र अधिकारीलाई समिति सभापति बनाइएको हो ।

एउटै क्षेत्रबाट आएका र तीन पटक चुनाव भक्त हमाल जिम्मेवारीविहीन हुँदा मत बराबर भएका कारण आधा कार्यकाल मात्रै पाएका र पहिलोपटक चुनाव जितेका अधिकारीले समिति सभापतिको नेतृत्व गर्ने अवसर पाएका छन् । पहिलोपटक चुनाव जितेका धमलाले पनि सहरी विकास समिति सभापतिको जिम्मेवारी पाएका छन् ।

अञ्जन समूहका प्रभावशाली केन्द्रीय कार्यकारिणी समिति सदस्य रविन पुरीलाई ढकाल समूहका लिलेन्द्रले विस्थापित गरिदिएपछि चर्चाको विषय बनेको छ ।

महासङ्घभित्र शक्तिशाली समिति मानिएको स्थल,यातायात तथा पारवहन समितिको जिम्मा अन्तिमसम्म पुरीलाई दिने तयारी थियो तर अध्यक्ष श्रेष्ठले पुरीलाई अर्को समितिमा लगेर लिलेन्द्रलाई सभापति थमाइदिए ।

लिलेन्द्रसँग वरिष्ठ उपाध्यक्षको चुनावकै बेला व्यक्तिगत सहमति भएको अनुमान महासङ्घभित्र छ । पुरीले भने उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिको जिम्मा पाएका छन् ।

पुँजीबजार फोरमको नेतृत्व वस्तुगत सङ्घले नेतृत्व गर्नुपर्नेमा एसोसिएट्सबाट आएका व्यक्तिलाई दिइएको छ ।

सागर ढकाल हेमराज समूहमा भएका कारण अञ्जनले एसोसिएटबाट चुनाव जितेका प्रियराज रेग्मीलाई पुँजीबजार फोरमको सभापतिको जिम्मेवारी दिएका छन् ।

वस्तुगतबाट सबैभन्दा लोकप्रिय मत लिएर जितेका अरनिको राजभण्डारीलाई कर तथा राजस्व सभापतिको जिम्मेवारी दिइएको छ ।

कृषि उद्यम केन्द्र वा शिक्षा, सीप, विकास तथा रोजगार समिति सभापतिमा चासो देखाएका राजकुमार कार्कीलाई सामाजिक विकास फोरमको जिम्मेवारी दिइएको छ ।

कृषि उद्यम केन्द्रमा शिवप्रसाद घिमिरे आएपछि कार्कीले छोडेका थिए भने शिक्षा, सीप, विकास तथा रोजगार समितिबाट शिक्षा हटाएपछि नबस्ने इच्छा देखाएका थिए । अध्यक्ष श्रेष्ठले कार्कीलाई समाजिक सेवा समितिको सभापति बनाएका हुन् ।

स्थानीय आर्थिक विकास समिति सभापतिमा दीपक नेपालको नाम अगाडि सारिए पनि अन्तिममा रोकिएको छ ।

नेपाल जिल्लानगरबाट अञ्जनकै समूहबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यको चुनाव जितेका थिए ।

गुटको लडाइँका कारण दुइदेखि तीन पटक चुनाव जितेका र अनुभवी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू समिति तथा फोरमको अवसरबाट बञ्चित भएका छन् ।