सरकारले मुलुकको शिक्षा क्षेत्रलाई पनि अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरुको आरोप


काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरुले सरकारले शिक्षा क्षेत्रलाई पनि बेहाल बनाएको टिप्पणी गरेका छन् ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभामा रहेको विपक्ष दलहरु नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिना, नेकपा (एमाले) की सांसद रेखाकुमारी झा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शिक्षा क्षेत्रलाई समेत अस्तव्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली काँग्रेसका सांसद तिमिल्सिनाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाए । उनले सरकारका गतिविधि भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत जलाउने जस्तो भएको दाबी गरे । सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरुको पदाधिकारी हटाउने काम गरेर गम्भिर गल्ती गरेको सांसद तिमिल्सिनाको भनाइ थियो ।

उनले भने, “यस्तो बेहाल र लथालिंग बनाइएको छ कि शिक्षा क्षेत्रलाई । यो वास्तवमा भन्ने हो भने अहिले शिक्षा क्षेत्रलाई कस्तो गरिएको छ भने जसरी भदौ २४ गते सिंहदरवार, संसद, शीतल निवास, सर्वोच्चमा आगो लगाइयो । त्यो भन्दा कम छैन यो । शिक्षा क्षेत्रलाई त्यस्तो बनाइएको छ । कस्तो बेलामा पदमुक्त गराइएको छ भने विश्वविद्यालयले आफनो वर्षभरीको बजेट बनाउने बेलामा पदाधिकारीलाई पदमुक्त गरिएको छ । त्यसपछि यो बेला भनेको अव नयाँ प्रोग्रामहरु के गर्ने भनेर प्राज्ञिक परिषद्को मिटिङ गराउने बेलामा यो इनटेनसनली नै यो देशलाई ध्वस्त बनाउन नै गरिएको हो ।”

नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन् । उनले नेपाल जस्तो उपयुक्त वातारण भएको मुलुकमा वाह्य मुलुकलाई विद्यार्थीलाई पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद देवकोटाले भनिन्, “मुख्यकुरा नेपालमा नै उच्च शिक्षा दिने वातवरण हाम्रा विद्यार्थीहरुलाई बनाउनु प¥यो । हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हावापानी, आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा बाहिरका विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, यसका लागि के गर्न सकिन्छ ? यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरु के छ ?  म यसका लागि जानकारी लिन चाहन्छु ।”

नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धि अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताए । उनले विश्वविद्यालयहरुश्रको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए ।

सांसद रिजालले भने, “अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि यसले असर पारेको छ । तर अव अहिले सचिवज्यूले भनेअनुसार दु्रत गतिमा नै त्यो नियुक्ति प्रक्रियामा छौँ भन्नुभएको छ । हामीले त्यसैलाई मानेर चित्त बुझाउनुको विकल्प तत्कालका लागि अरु केही पनि छैन । हाम्रो चिन्ता विश्वविद्यालय ठिकठाक ढंगले अघि बढोस् । हामी जसरी चलाउँछौँ विश्व विद्यालय, विद्यार्थीहरु बाध्य मुलुकमा जानुपर्ने अवस्था छ । यस्तो बेलामा पदाधिकारी नियुक्तिको विषयले थप समस्या नआओस् भन्ने हाम्रो चिन्ता हो ।”

सांसद रिजालले सरकारले ठिक ढंगले काम गरोस् भन्ने आफूहरुले चाहेको पनि उल्लेख गरे ।