सुकुमबासीलाई होल्डिङ सेन्टर खाली गर्न ५ दिने अल्टिमेटम


काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी तथा भूमिहीन परिवारलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ।

समितिका अनुसार मनसुन शुरु भइसकेकाले खोला किनारमा रहेको होल्डिङ सेन्टरमा बाढी र डुबानको जोखिम बढेको छ।

साथै लामो समयसम्म अस्थायी शिविरमा बस्दा प्रभावितहरूको दैनिक जीवन पनि अस्तव्यस्त बनेको भन्दै सुरक्षित स्थानमा पुनर्स्थापनाका लागि पहल गरिएको हो।

सरकारले पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ सहायता दिने व्यवस्था गरेको छ। साथै वास्तविक सुकुमबासी तथा घरबारविहीन परिवारलाई स्थायी व्यवस्थापन नभएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोग पनि उपलब्ध गराइने जनाएको छ।

हाल काठमाडौं उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा ३८८ परिवार बसोबास गरिरहेका छन्।