स्रोत, साधनको अभावमा अपेक्षित नतिजा हात पार्न सकेका छैनौँः प्रहरी महानिरीक्षक कार्की


काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रोत, साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् ।

लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरीको विभिन्न विभागहरु थप्ने काम भएपनि त्यसलाई साधन, स्रोतले सम्पन्न बनाउने र त्यहाँ कार्यरत जनशक्तिहरुलाई सीपमूलक तालिम दिनुपर्ने कुरातर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

हामीले स्थापना गरिसकेका फिल्डमा काम गर्ने युनिटहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने र त्यहाँ कार्यरत जनशक्तिहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्न नसक्दा उनीहरुबाट अपेक्षित नतिजा हासिल गर्न नसकिने अवस्था रहेको उनको भनाई थियो ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरी सुरक्षित, स्वस्थ र लागू औषधरहित समाज निर्माणमासदैव प्रतिवद्ध रही आएको पनि बताए । उनले लागुऔषध नियन्त्रणमा तीन वटै प्रमुख स्तम्भहरु रोकथाम, नियन्त्रण र पुनस्थापनाको क्षेत्रमा निरन्तर सक्रियता, सतर्कता र प्रतिवद्धता प्रहरीहरुको क्रियाकलापले प्रतिविम्वित गरेको उल्लेख गर्दै त्यसलाई आगामी दिन अझै बढी सक्रियताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले लागुऔषधमा फसेकाहरुलाई उपचारसहितको सुधारका लागि पोखरामा पनि पुनःस्थापना केन्द्र स्थापना गर्न लागिएको बताए ।