काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घटिरहेको भएपनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद रिजालले यस्तो आलोचना गरेका हुन् । उनले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तुलगायत सबै क्षेत्रमा महँगी चुलिएको बताए । बढ्दो महँगीका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बनेको उनको भनाइ छ ।
उनले इन्धन महँगिँदा निर्माण सामग्रीको लागत बढेको, पूर्वाधार निर्माणको जिम्मा लिएका सयौँ व्यवसायी समस्यामा परेको तथा हजारौँ श्रमिकले रोजगारी गुमाउनुपरेको भन्दै तत्काल इन्धनको मूल्य घटाइ नागरिकलाई सहज रुपमका जीवन यापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण देखाउँदै इन्धनमा गरिएको भारी मूल्यवृद्धि पश्चात आमउपभोक्ताहरुले अत्यावश्यक औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सम्पूर्ण क्षेत्रमा चर्को मूल्यवृद्धिको सामना गर्नु परिरहेको छ । यसले सामान्य नागरिकको दैनिक जीवन नै कठिन बनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिको कारण निर्माण सामग्री महंगिदा सयौँ पूर्वाधार निर्माणको जिम्मा लिएका व्यवसायीहरु समेते समस्यामा परेका छन् भने हजारौँ श्रमिकको रोजगारी समेत गुमेको छ । केही हप्तादेखि अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट भइरहेको छ । खरिद मूल्य सस्तो हुँदा समेत विभियन्न बहाना बनाई मूल्य नघघटाउनु नेपाली उपभोक्तामाथिको अन्याय हो । तसर्थ, तत्काल मूल्य घटाई चौतर्फी भएको मूल्यवृद्धि नियन्त्रण गरेर आम जनताको दैनिक जीवनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
उनले इन्धनको मूल्य बढेसँगै सबै क्षेत्रमा महँगी चुलिएको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्