कैलाली । कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजना सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकासको नयाँ आधारका रूपमा हेरिएको छ।
आइएमई समूहको मुख्य लगानीमा करिब ६ अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्गलगायतका पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्।
परियोजनाका इन्जिनियर विजय पौडेलका अनुसार पोल, बटम र टप स्टेशन निर्माण अन्तिम चरणमा पुगेका छन्। त्यसपछि तार तान्ने र गोण्डोला जडानको काम अघि बढ्नेछ। आगामी असोजसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यति ठूलो निजी लगानीको पर्यटन आयोजना प्रदेशकै लागि ऐतिहासिक अवसर भएको बताउँदै यसबाट होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले पनि यसले थप लगानी आकर्षित गर्ने र सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पुग्ने बताएका छन्।
हाल चिसापानीमा दैनिक पाँचदेखि सात सय आन्तरिक पर्यटक आउने भए पनि उनीहरूको बसाइँ छोटो हुने गरेको छ। केबलकार र अन्य पूर्वाधार सञ्चालनमा आएपछि पर्यटकको बसाइँ लम्बिने, खर्च बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।
बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली नदीको र्याफ्टिङ, धार्मिक पर्यटन र राजकाँडाको शीतल वातावरणलाई एउटै पर्यटन प्याकेजमा जोड्न सकिने उनीहरूको भनाइ छ।
स्थानीय व्यवसायी र पर्यटनकर्मीका अनुसार परियोजनाले होटल, रिसोर्ट, यातायात, कृषि, हस्तकला र सेवा क्षेत्रमा हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ। होमस्टे, स्थानीय कृषिउपज र हस्तकलाले समेत नयाँ बजार पाउने अपेक्षा गरिएको छ।
भारतसँगको खुला सीमा, सहज सडक सञ्जाल तथा उत्तराखण्ड र उत्तरप्रदेशजस्ता ठूला बजारको निकटताका कारण सीमावर्ती भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना पनि उच्च रहेको सरोकारवालाहरू बताउँछन्।
आइएमई समूह तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो आयोजना केवल पर्यटन परियोजना नभई सुदूरपश्चिमको आर्थिक रूपान्तरणको माध्यम भएको बताए । उनका अनुसार पर्यटन पूर्वाधार विस्तारमार्फत पर्यटकको बसाइँ लम्ब्याउने, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र भविष्यमा सातै प्रदेशमा यस्तै परियोजना विस्तार गर्ने लक्ष्य समूहको रहेको छ।
वर्षौँदेखि सम्भावनामै सीमित कर्णाली किनारको प्राकृतिक र सांस्कृतिक सम्पदालाई आर्थिक अवसरमा रूपान्तरण गर्दै चिसापानी–राजकाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वासका साथ जालपादेवी केबलकार निर्माण अघि बढिरहेको छ।



प्रतिक्रिया दिनुहोस्