काठमाडाैँ । कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले धानखेत जोगाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उनले धान खेत मासिँदै गएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् ।
प्रविधि जतिसुकै विकास भएपनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने भन्दै उहाँले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताए । धानखेत मासिनु सबैको साझा चिन्ताको विषय हुनुपर्ने उनको भनाइ छ ।
प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ लगायतका कारण धानखेत मासिँदै गएको उनले बताए । उनले नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे । आयात सहज रहेसम्म समस्या नदेखिएपनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीको थाली नै रित्तिन सक्ने जोखिम रहेको उनको भनाइ थियो ।
उनले खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय धानभन्दा बढी आम्दानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने बताए । किसान मकै, उखु तथा अन्य नगदे बालीतर्फ लाग्दै गएकाले धानखेतीको क्षेत्र घटिरहेको उनको भनाइ थियो ।
उनले धानका स्थानीय तथा परम्परागत जातहरू हराउँदै गएको उल्लेख गरे । पहिले एउटै किसानले जमिनको अवस्था, पानीको उपलब्धता र मौसमअनुसार पाँच–पाँच वटा धानका जात लगाउने गरेको स्मरण गर्दै उहाँले स्थानीय जात नष्ट भएमा बजारले त्यसको विकल्प उपलब्ध गराउन नसक्ने बताए ।
सचिव मिश्रले नेपालमा धानको औसत उत्पादकत्व प्रतिहेक्टर चार टनको हाराहारीमा मात्र रहेको बताए । विकसित मुलुकले आठदेखि १० टनसम्म उत्पादन गरिरहेको उनको भनाइ छ । नेपालले पनि उत्पादकत्व दोब्बर बनाउन सके धान उत्पादनमा आत्मनिर्भर मात्र नभई पर्याप्त हुने उनले बताए ।
उनले दुई बाली धान खेती गर्नुपर्नेमा जोड दिए । चैते धानको खेती विस्तार गरी एक लाखदेखि दुई लाख हेक्टरसम्म पु¥याउन सके देशलाई चामल आयात गर्न नपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । त्यसको लागी सिँचाइ क्षेत्र विस्तार गर्नुपर्ने उनले बताए । उनले आगामी चार–पाँच वर्षभित्र दुई लाख हेक्टर क्षेत्रफलमा चैते धान विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दै जाँदा उत्पादन लागत घट्ने र धानखेती सहज बन्दै गएको पनि उनले बताए । रोपाइँ, कटाइ, मडाइ तथा सुकाउने काममा आधुनिक उपकरण प्रयोग भइरहेकाले खेती अब पहिलेजस्तो कठिन पेशा नरहेको उनको भनाइ थियो ।
सचिव मिश्रले यस वर्ष समयमै धानको समर्थन मूल्य तोकिएको पनि जानकारी दिए । अब सहकारी, धान तथा चामल मिलहरूले पनि सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्