काठमाडौँ । मनसुनका कारण यात्रा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे सडक र पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्डमा सवारी सञ्चालनमा रोक लगाएको छ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यकबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि मनाङ जिल्लाको सीमानासम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डको बीमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
उनकाअनुसार एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ।
जिल्ला प्रशासन कार्यालयले निर्णयबाट सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ। मौसमविद्हरूले आजदेखि धेरै वर्षा हुने सम्भावना औँल्याएपछि रात्रिकालीन समयमा हुने जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।
बर्खायाममा पहिरो खस्ने जोखिम उच्च रहने भएकाले दुर्घटना तथा मानवीय क्षति कम गर्ने उद्देश्यले सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए।
बेँसीसहरदेखि मनाङको सिमाना म्यार्दी खोलासम्म करिब ३५ किलोमिटर तथा चामेसम्म करिब ६५ किलोमिटर दूरी रहेको छ। लमजुङ र मनाङ जोड्ने एकमात्र सडकका रूपमा रहेको यो सडकखण्डमा हरेक वर्ष वर्षायाममा विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। सडक लामो समय बन्द हुँदा मनाङका स्थानीय हेलिकोप्टरमार्फत आवतजावत गर्न बाध्य हुने गरेका छन्।
यस्तै, राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्की जिल्लाको सिमानासम्मको लमजुङ खण्ड करिब ४८ किलोमिटर लामो छ। विशेषगरी मध्यनेपाल नगरपालिका–१० स्थित बीमिरे भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने समस्या रहँदै आएको छ। यही सडकमार्ग मनाङ र लमजुङका स्थानीयले पोखरा आवतजावतका लागि मुख्य रूपमा प्रयोग गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्