महालेखा परीक्षक अब संघीय संरचनामा 


काठमाडौं। देशको सर्वोच्च लेखा परीक्षण संस्था महालेखा परीक्षकको कार्यालय अब पूर्णता संघीय संरचनामा गएको छ। महालेखाले यस क्रममा आफ्नो सातैवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेको छ। 

‘देश संघीयतामा गइसकेपछि अब परम्परागत ढाँचाले काठमाडौँस्थित महालेखाको एकल कार्यालयले देशभरिकै लेखा परीक्षण त्यसको अनुगमन र बेरुजु सम्परिक्षणको कार्य गरिरहनु अस्वाभाविक र अमिल्दो भएकै कारण सातैवटा प्रदेशमा कार्यालयहरू स्थापना गरिएका हुन्,’ महालेखा परीक्षक तोयम रायाले टक्सार न्युजसँग भने। 

उनका अनुसार खासगरी देशैभरिका स्थानीय पालिकाहरूको लेखा परीक्षणपछि सम्पर्कका लागि स्थानीय संरचना नभएको महसुस गरेर महालेखा परीक्षकको कार्यालयलाई संघीय संरचनामा लगिएको हो। 

सातवटै प्रदेशमा रहेका कार्यालयहरूले अब स्थानीय प्रदेशहरू र पालिकाहरूसँग समन्वय गरी लेखा परीक्षण सम्बन्धी कार्यहरू गर्नेछन्।

वि.सं. २०७६ मै नेपाल सरकारले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरू स्थापना गर्ने सैद्धान्तिक निर्णय गरे तापनि पर्याप्त वित्तीय स्रोत, आवश्यक भौतिक पूर्वाधार र कर्मचारीहरूको व्यवस्थापन हुन नसक्दा लामो समयसम्म यी कार्यालयहरू कागजमा मात्र सीमित रहे र काठमाडौँबाटै प्रादेशिक कार्यहरू सञ्चालन गरिएका थिए।

यसैअनुरुप २०८२ माघदेखि प्रादेशिक कार्यालयहरू स्थापना गरि कर्मचारी परिचालन गर्न थालिएकोमा अहिले सात वटै प्रदेश कार्यालय सञ्चालनमा आएका हुन् ।
संघीयताको मर्म अनुरूप तीनवटै तहका सार्वजनिक निकायहरूको गहन लेखापरीक्षण गर्न महालेखाको संगठन संरचनामा पनि परिवर्तन गरिएको छ।