काठमाडाैँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको नीति र कार्यन्वयनका बीच ठूलो खाडल देखिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
सांसद थेबेले भूमि आयोग, मल व्यवस्थापन र विपद् तयारी जस्ता दशकौँ पुराना समस्या समाधानमा विगतका सरकारहरूको पनि कमजोरी रहेको स्वीकार गरे । तर हाल भइरहेका निर्णय र त्यसबाट सिर्जित परिणामको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने उनकाे जिकिर थियाे ।
सांसद थेबेले देशका २१ लाखभन्दा बढी नागरिक अझै पनि औपचारिक भूमि अधिकारबाट वञ्चित रहेको बताए । सरकारले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा बुल्डोजर चलाएर १ हजार ५ सय परिवारलाई विस्थापित गरेको उनले बताए ।
उनले भने, ‘निर्वाचनका समयमा सुकुम्बासी हटाउँदैनौँ भन्नेहरू अहिले सरकारमा पुगेपछि मौन छन् । विस्थापित भएका परिवारको पुनस्र्थापनाका लागि सरकारले के गरिरहेको छ ?’
थेबेले २०८२ मङ्सिरमा १.११ प्रतिशत रहेको मुद्रास्फीति ६ महिनामै बढेर २०८३ जेठमा ५.४ प्रतिशत पुगेको जानकारी दिए । जनता महँगीको मारमा परिरहेका बेला सरकारले बिजुली, पेट्रोलियम पदार्थ र राइड शेयरिङ सेवामा कर वृद्धि गरेर थप भार थोपरेको उनकाे आरोप छ । उनले ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य कुन आधारमा तय गरिएको भन्दै सरकारलाई प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस्