काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो राजस्व सल्लाहकारमा सिद्धार्थ बैंकका सञ्चालकसमेत रहेका एफसिए भोजन अर्याललाई नियुक्त गरेका छन् ।
आज अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन् ।
नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।
सो अवसरमा बोल्दै नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।
उनको नियुक्ति अवैतनिक भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्यात सिद्धार्थ बैंकको सञ्चालक समिति सदस्य हुन् । नियुक्तिपत्र बुझेको समय अर्थात सोमबार बेलुकीसम्म पनि अर्याल सिद्धार्थ बैंकको सञ्चालक कायमै रहेको वेबसाइटमा देखिन्छ ।
अर्थमन्त्री भएदेखि नै अर्याल आन्तरिक रूपमा सल्लाहकार थिए । स्रोतकाअनुसार उनी अर्थमन्त्रीले पठाएको भन्दै विभिन्न विभागमा पुग्ने गरेका थिए । अहिले भने अर्थमन्त्रीले उनलाई सल्लाहकार नियुक्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्