भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते


भारतको पश्चिमी राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीकाअनुसार अहमदाबाद सहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटपछि भीषण आगलागी भएको थियो । प्रहरीले उक्त पटाका निर्माण इकाई अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ ।

विस्फोटको समयमा कारखानामा करिब १५ जना कामदार कार्यरत थिए । घटनामा घाइते भएका १० जनालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थालाई दृष्टिगत गर्दै मृतकको संख्या बढ्नसक्ने चिकित्सकहरूले आशंका गरेका छन् । विस्फोटको वास्तविक कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।