इरान र अमेरिकाबिच फेरि तनाव चर्किएपछि तत्काल मध्यपूर्व छोड्न आफ्ना नागरिकलाई दक्षिण काेरियाको आग्रह


काठमाडौँ । दक्षिण कोरियाले तत्काल मध्यपूर्व छोड्न वा सुरक्षित ठाउँमा रहन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

इरान र अमेरिकाबिच तनाव चर्किदै गएपछि दक्षिण कोरियाले यात्राकाक्रममा रहेका सर्वसाधारणलाई तत्काल मध्यपूर्ण छोड्न आग्रह गरेको हो ।

सियोलस्थित विदेश मन्त्रालयले छोटोसमयका लागि पुगेका पर्यटक तथा सर्वसाधारणलाई तुरुन्त स्वदेश फर्कन वा सुरक्षित स्थानमा जान विशेष एड्भाइजरी जारी गरेको हो ।

दक्षिण कोरियाका द्वितीय उप–विदेश मन्त्री किम जिनाका अनुसार गत मार्च महिनादेखि नै अधिकांश मध्यपूर्वी देशहरूलाई ‘तह ३ को यात्रा चेतावनी’मा राखिएको थियो ।

यो चेतावनी अन्तर्गत अत्यावश्यक कामबाहेक ती देशहरू छोड्न नागरिकहरूलाई पहिल्यै आग्रह गरिएको थियो ।

मन्त्री किमले कुनै विशेष वा बाध्यकारी कारण नभएका अल्पकालीन पर्यटकहरूलाई ढिला नगरी तत्काल मध्यपूर्व क्षेत्रबाट प्रस्थान गर्न निर्देशन दिएका छन् ।

यसैगरी, दक्षिण कोरियाले यमनका हुथी विद्रोही र साउदी अरबबिच हालै बढेको सैन्य तनावलाई मध्यनजर गर्दै लाल सागर क्षेत्रमा गुड्ने कोरियाली व्यापारिक जहाजहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ ।