काठमाडौं ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखा (पीएसटी) की निर्देशक तथा महानिर्देशकको कार्यालयकी उपप्रमुख हुआ याङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताइन्।
छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि, मान्यताप्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केत (जीआई) सम्बन्धी कानुनी र संस्थागत व्यवस्था सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
हुआ याङले हालै आफूले दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखा को नेतृत्व सम्हालेको उल्लेख गर्दै नेपाललाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नले आगामी कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम र एफएओको मुख्यालय इटालीको रोममा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा पनि दिइन् ।
दुवै पक्षले नेपाल सरकार र एफएओबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै दिगो, उत्थानशील र समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्