भा.रू. २०० र ५०० दरका नोट सटही गर्न सकिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भारतीय रूपैयाँ २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

विहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रूपैयाँ २५ हजार को सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।

“मिति २०८२ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना (खण्ड ७५, संख्या ५७, भाग ५) बमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रूपैयाँ ५०० र १००० दरका नोटको कारोवार गर्न नपाइने व्यवस्था रहेको छ । सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रू. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ,” सूचनामा भनिएको छ ।

साथै, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रूपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रूपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ । यसै विषयसँग सम्बन्धित मिति २०८२ भदौ १० मा प्रकाशित सूचना खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट प्रकाशित सूचनाहरू बमोजिम नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रूपैयाँसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजारबराबरसम्म) भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ ।