नर्भिकमा मस्तिष्कको धमनी नजिकको दुर्लभ ट्युमरको सफल शल्यक्रिया


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी ७१ वर्षीया महिलाको सफल शल्यक्रिया गरेको छ।

अस्पतालका अनुसार न्युरोसर्जन डा। पावनबहादुर भण्डारीको नेतृत्वमा असार २५ गते करिब सात घण्टा लामो शल्यक्रियामार्फत बिरामीको घाँटीको बायाँ भागमा रहेको ट्युमर निकालिएको हो। शल्यक्रियामा डा. पुरुषोत्तम बानियाँ, डा. समीर अर्याल तथा एनेस्थेसियातर्फ डा. सुरेश लामिछानेसहितको चिकित्सकीय टोली संलग्न थियो।

डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा रहेको ट्युमर वर्षौंदेखि विस्तारै बढ्दै गएको थियो। ट्युमरका कारण श्वासप्रश्वासमा कठिनाइ, बेलाबेलामा अचेत हुने, शरीरका केही भाग झम्झमाउने र टाउको हल्लाउँदा चक्कर लाग्ने समस्या देखिएको थियो।

बिरामीका आफन्तका अनुसार करिब २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो। यसअघि अन्य अस्पतालमा दुईपटक शल्यक्रियाको तयारी भए पनि विभिन्न कारणले उपचार हुन सकेको थिएन।

चिकित्सकका अनुसार बिरामीको बायाँ भर्टिब्रल आर्टरीबाट अत्यधिक रक्तनलीयुक्त (भास्कुलर) ट्युमर विकसित भएको थियो। मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न हुने यस्तो ट्युमर निकै दुर्लभ हुने र यसको स्थान तथा वरपरका संवेदनशील संरचनाका कारण शल्यक्रिया जटिल मानिने बताइएको छ।

शल्यक्रियाका क्रममा रक्तस्राव कम गर्न भर्टिब्रल आर्टरीलाई मेरुदण्डभित्रबाट बाहिर निकालेर ट्रान्सपोजिसन गरिएको थियो। आवश्यकता परे मस्तिष्कमा रक्तसञ्चार कायम राख्न भर्टिब्रल आर्टरी बाइपास गर्ने तयारी गरिए पनि त्यसको आवश्यकता नपरेको डा. भण्डारीले जानकारी दिए।

शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा रहेको क्रिटिकल केयर टोलीले आईसीयूमा निगरानीमा राखेको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि शल्यक्रियाको दुई दिनपछि बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।