काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता घटना हुनु् चिन्ताको विषय भएको बताएका छन् । विहीबार सद्भाव सन्देश जारी गर्दै पूर्व राजा शाहले हाम्रो मौलिक मुल्य र मान्यता विपरितको विषय रहेको बताएका हुन् ।
सन्देशमा भनिएको छ, “केही दिन अगाडी सुनसरी जिल्लाको केही गाउँबस्तीमा भडकिएको आपसी द्धन्द र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिदै गएर कोशी क्षेत्र र तराइका विभिन्न भू-भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ । समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा सुपरिचित नेपालमा यस प्रकारका अवाच्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मुल्य र मान्यता विपरितको विषय हो। त्यसैले जुनसुकै भू(भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिली। हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।”
“हामी नेपालीहरु नेपाल निर्माणको सुरुवाति समय देखि नै परस्पर मिलिजुली, हाँसी खुशी एक अर्कामा माया प्रिति गाँसी रहे बसेका जातजाती हो। हो, हाम्रो समाज बहुजातीय, बहुभाषिक छ । हाम्रा आ(आफ्नै धर्म संस्कृति र रितिथिति छन । हरेकले आ-आफ्ना तबरले आस्था र मान्यता राख्दै आएको हाम्रो परम्परा छ । यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम सामाजिक गुणका कारणले नै विश्वमा हाम्रो सम्मान पनि रहेको छ। यो प्रकारको नेपाली विशेषता र गौरव गरिमालाई हामीले गुम्न दिनु हुदैन । कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन,” सन्देशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्