चैतभित्र पुँजीगत खर्च सक्न र बेरुजु शुन्यमा झार्न श्रममन्त्री यादवको निर्देशन


काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले चालु आर्थिक वर्षको पुँजीगत खर्च चैत मसान्तभित्रै अधिकतम रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

बिहीबार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उहाँले चैत्रभित्र नै पुँजीगत खर्च सक्न दिर्नेशन दिएका हुन् । उनले बर्षको अन्तिम तीन महिनामा अन्य कार्यको चाप बढ्ने भएकाले पुँजीगत बजेट समयमै खर्च गर्नुपर्नेमा जोड दिए । उनले बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राख्दै असुल गर्नुपर्ने रकम अनिवार्य असुल गर्न पनि निर्देशन दिए ।

सैद्धान्तिक बेरुजु समयमै फरफारक गरी चालु आर्थिक वर्षभित्र बेरुजु शुन्यमा झार्ने लक्ष्यसहित काम गर्न उनले आग्रह गरे । मन्त्री यादवले प्रत्येक महिना सबै महाशाखा, विभाग र कार्यालयले कम्तीमा एउटा नीतिगत सुधार र एउटा डिजिटल सुधारको प्रश्ताव तयार गरी स्वीकृतिपछि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था लागू गर्न पनि निर्देशन दिए ।

उनले भने, “पुँजीगत खर्चलाई सकभर चैत मसान्तसम्म अधिकतम खर्च गर्ने कार्ययोजना बनाउनुहोला र किनभने अन्तिम तीन महिनामा चाहिँ हाम्रो अरु अरु काम पनि हुन्छ । पुँजीगत यतै सक्यो भने त्यो झन् बेटर होला । धेरै पुँजीगत बजेट पनि हुँदैन हामीसँग, त्यही भएर यसलाई चाँडै सकौँ । अर्को हाम्रो समस्या भनेको, बेरुजु फस्र्यौट हो । बेरुजु फस्र्यौट जोजोसँग असुल गर्नुपर्ने छ, कसैलाई छोड्न हुदैन । जहाँ–जसरी हुन्छ, बेरुजु असुल गर्नुप¥यो । असुलउपर छ भने असुल उपर, सैद्धान्तिक बेरुजु छ भने फरफारक, यो सयममा नै हुनुपर्छ । यो आर्थिक वर्षमा बेरुजु न्युनिकरण गरेर सकभर जिरो बनाउने प्रयास गर्नुहोला ।”

उनले मन्त्रालयलाई कार्यसम्पादनमा पहिलो हुनेगरि काम गर्न पनि आग्रह गरे । उनले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन बजेट खर्चका आधारमा नभई सार्वजनिक सेवा प्रवाह, सुशासन, जनतामा परेको प्रभाव र प्रमुख कार्यसम्पादन सूचक (केपीआई) का आधारमा हुने पनि बताए । उनले जनअपेक्षाअनुसार काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।