धिताेपत्र बाेर्डले सार्वजनिक गर्‍यो मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र


काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजीबजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र आवरणयुक्त सर्ट सेलिङ लागू गर्ने तयारीस्वरूप पहिलो पटक परामर्शका लागि अवधारणापत्र सार्वजनिक गरेको छ।

बोर्डले ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङका लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेर बजारको तयारी तथा सरोकारवालाको सुझाव संकलन गर्न लागेको जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता आधुनिक वित्तीय उपकरण चरणबद्ध रूपमा सुरु गर्ने घोषणा गरेको थियो। त्यसैअनुसार सेबोनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत तथा प्रक्रियागत संरचना तयार गर्ने योजना अघि सारेको छ।

बोर्डका अनुसार विश्वका विकसित पूँजीबजारमा यस्ता धितोपत्र वित्तीय सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी, तरल र दक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। सोही अभ्यासलाई आत्मसात् गर्दै नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप आधुनिक, सुरक्षित र प्रतिस्पर्धी बनाउने उद्देश्यले यी सेवाहरू चरणबद्ध रूपमा लागू गर्न लागिएको हो।

अवधारणापत्रलाई चार अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा नेपालको पूँजीबजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता समेटिएको छ। दोस्रो अध्यायमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालले लिन सक्ने सिकाइ प्रस्तुत गरिएको छ भने तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण गरिएको छ। चौथो अध्यायमा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र आवरणयुक्त सर्ट सेलिङको मोडल प्रस्ताव गरिएको छ।

बोर्डले अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी), धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा अन्य सरोकारवाला निकायहरूको भूमिका पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। साथै कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार विकास, सूचना प्रविधि आधुनिकीकरण, जोखिम व्यवस्थापन, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई प्राथमिकतामा राखेकाे छ ।

बाेर्डले अवधारणापत्रमा प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा आवरणयुक्त सर्ट सेलिङ नियमावली तयार गरी सार्वजनिक गर्ने जनाएको छ। साथै, सम्बन्धित सबै सरोकारवालालाई आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको छ।