उपाध्यक्ष भइसकेका प्रा.डा. गिरीले चिकित्सा शिक्षा अयोगमा फेरि सदस्यमा नियुक्ति लिए


काठमाडौँ । चिकित्सा शिक्षा अयोगको उपाध्यक्ष भइसकेको प्रा.डा. श्रीकृष्ण गिरीले फेरि सदस्यमा नियुक्ति लिएका छन् ।

एक कार्यकाल उपाध्यक्ष भइसकेका र वालेन्द्र नेतृत्वको सरकारमा निमित्त उपाध्यक्ष बनेका गिरीले फेरि सदस्यमा नियुक्ति लिएका हुन् ।

उनी नयाँ नेतृत्वको प्रतिस्प्रधामा तीनजनाभित्र समेत परेका थिए । गिरी २०७६ सालमा ४ वर्षका लागि आयोगको उपाध्यक्ष बनेका थिए ।

उपाध्यक्ष भइसकेको व्यक्ति फेरि सदस्य बनेको भन्दै आलोचना भएको छ । यसै हप्ता चिकित्सा शिक्षा आयोगको बैठकमा देखिएपछि धेरैले आश्चर्य मानेका थिए । उनले आफू फेरि सदस्यमा नियुत्त भएको बताएका थिए ।

केहीले प्रा.डा. गिरीलाई ‘यो त उपप्रधानमन्त्री भइसकेको व्यक्ति फेरि राज्यमन्त्री भएको जस्तो भएन र’ भन्दै जिस्काएका थिए ।

प्रा.डा. गिरीले भने हाँसेर टारेका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश अग्रवालको पहलमा फेरि आयोगको सदस्यको नियुक्त भएका हुन् । आयोग चिकित्सा शिक्षालाई व्यवस्थित, एकीकृत र गुणस्तरीय बनाउने निकाय हो ।

विगतदेखि नै आयोगमा रहन हानथाप हुने गरेको छ । चिकित्सा शिक्षा विज्ञहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिलासहित तीन जना नियुक्त गर्नुपर्ने व्यवस्था छ । तीनजनामा १ जना प्रा.डा. गिरी नियुक्त भएका हुन् ।