काठमाडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकी अर्थव्यवस्थामा केही सुस्तता आएको छ ।
कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारको अत्यधिक मागका कारण व्यापार घाटा चुलिएपछि विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको आर्थिक वृद्धिलाई दबाब दिएको सिएनएनले जनाएको छ ।
यद्यपि, अमेरिकी उपभोक्ताहरूले दोस्रो त्रैमासिकमा खर्च बढाएका छन् । यसलाई उपभोग–आधारित अमेरिकी अर्थतन्त्रका लागि सकारात्मक सङ्केत मानिएको छ।
अमेरिकी अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको अवधिमा वार्षिक १.५ प्रतिशतका दरले बढेको छ । यो अघिल्लो त्रैमासको २.१ प्रतिशतको वृद्धिदरभन्दा कम हो ।
वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार मे महिनामा मौसमी समायोजनपछिको व्यापार घाटा ४२.२ प्रतिशतले बढेर ७७.६ अर्ब डलर पुगेको छ ।
कम्प्युटरका सहायक सामग्री, सेमिकन्डक्टर र अन्य एआई सम्बन्धी उत्पादनको आयात निर्यातको तुलनामा अत्यधिक बढेकाले यो घाटा करिब एक वर्षयताकै उच्च विन्दुमा पुगेको हो । यद्यपि, जुन महिनामा व्यापार घाटामा केही कमी आएको थियो ।
अमेरिकी अर्थतन्त्रको मुख्य खम्बा मानिने उपभोक्ता खर्च दोस्रो त्रैमासमा बढेर वार्षिक ३.२ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासमा ०.५ प्रतिशत मात्र थियो । यो करिब एक वर्षयताकै तीव्र वृद्धि हो र यस तीन महिनाको अवधिमा जीडीपी वृद्धिमा सबैभन्दा ठुलो योगदान यही खर्चको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्