जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भएलगत्तै युवाहरूको एक समूहले स्वतःस्फूर्त रूपमा भेला भएर दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी युवाहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।
उनीहरूले समाजमा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिए। साथै, पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराए।
प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासनसँग आग्रह गरे।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्