निर्मल पुर्जाको निधनपछि अन्नपूर्ण गाउँपालिकाद्वारा शोक विदा घोषणा


काठमाडौँ । पाकिस्तानमा रहेकाे ८ हजार ४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेकाे छ ।

अन्नपूर्ण गाउँपालिका निर्मल पुर्जाको जन्मथलो हो । पुर्जा अन्नपूर्ण गाउँपालिका–२ दानाका हुन् ।

गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार गाउँपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपाली समुदाय स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,“नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वस्तरमा चिनाउन, नेपाली आरोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पु¥याएको योगदान सदैव स्मरणीय रहने छ ।” गाउँपालिकाले पुर्जाको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ ।