बिल लिनुस्, १० लाखसम्म नगद जित्नुहाेस् : विभागले सुरु गर्‍यो अनलाइन दर्ता


काठमाडौँ। अब खरिद गर्दा प्यान वा भ्याट बिल लिनु उपभोक्ताका लागि कर दायित्व पूरा गर्ने माध्यम मात्र होइन, नगद पुरस्कार जित्ने अवसर पनि बनेको छ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य उपभोक्तालाई साउन १ गतेदेखि लिएका सक्कल प्यान तथा भ्याट बिल अनलाइनमार्फत दर्ता गर्न आग्रह गरेको छ।

विभागले शनिबार सूचना जारी गर्दै रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा नगदमा खरिद गरी बिल लिएका उपभोक्ताले वेबसाइटमार्फत बिल दर्ता गरेर कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ।

विभागका उपमहानिर्देशक तथा सहसचिव जनकराज शर्माका अनुसार व्यक्तिगत प्रयोजनका लागि नेपालभित्र गरिएको नगद खरिदको सक्कल बिल वेबसाइटमा अपलोड गरेपछि उपभोक्ता उपहार योजनाका लागि योग्य हुनेछन्।

यद्यपि, बैंक वा डिजिटल वालेटमार्फत क्यूआर ९त्तच्० प्रयोग गरी गरिएको भुक्तानीका हकमा भने छुट्टै बिल दर्ता गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ। त्यस्ता कारोबारको विवरण प्रणालीमा स्वतः समावेश हुने भएकाले ट्रान्स्याक्सन नम्बरकै आधारमा सहभागिता कायम हुनेछ। तर, पुरस्कार विजेता घोषित भएपछि सक्कल बिल भने अनिवार्य रूपमा पेश गर्नुपर्ने भएकाले सबै बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ।

विभागले खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिन र बिल उपलब्ध नगराए सम्बन्धित व्यवसायीबारे विभागलाई जानकारी गराउन पनि उपभोक्तालाई अनुरोध गरेको छ। विभागका अनुसार यस अभियानले उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्नुका साथै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। प्राविधिक तयारी पूरा भइसकेकाले कुनै समस्या नआए दैनिक एक जना योग्य उपभोक्ताले कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन्।