काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन तथा अनलाइन सट्टेबाजीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूबाट भिओआइपी सञ्चालनमा प्रयोग हुने उपकरण तथा सामग्री बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा प्रोशेस गुरुङ,मुना श्रेष्ठ,जेनिथ झुकाल,कृष्ण नगरकोटी रहेका छन् ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा बस्दै आएका २२ वर्षीय प्रोशेस गुरुङलाई साउन १४ गते पक्राउ गरिएको थियो ।
उनको कोठाबाट १६ पोर्टको सिम बक्स (भिओआइपी) उपकरण १ थान,ल्यापटप १ थान,एनसेलका सिम कार्ड २२ थान,वाइफाइ राउटर १ थान,मोबाइल फोन १ थान बरामद गरिएको ब्युरोले जनाएको छ । यस्तै काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गणेशस्थानमा बस्दै आएकी २० वर्षीया मुना श्रेष्ठलाई पनि साउन १४ गते पक्राउ गरिएको ब्युरोको भनाई छ ।
उनको कोठाबाट १६ पोर्टको सिम बक्स (भिओआइपी) उपकरण १ थान,ल्यापटप १ थान,राउटर १ थान,एनसेल सिम कार्ड २० थान,मोबाइल फोन २ थान,बरामद गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थायी घर भएका तथा हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा बस्दै आएका २१ वर्षीय जेनित झुकाललाई साउन १५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको कोठाबाट ११२ पोर्टका सिम बक्स (भिओआइपी) उपकरण ५ थान,ब्याट्री ८ थान,इन्भर्टर १ थान,एनसेल सिम कार्ड १५३ थान,मोबाइल फोन २ थान बरामद गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ निवासी ३४ वर्षीय कृष्ण नगरकोटीलाई आफ्नै घरमा भिओआइपी सञ्चालनको तयारी गरिरहेको आरोपमा ब्युरोले पक्राउ गरेको छ ।
उनको उनको कोठाबाट ब्याट्री ८ थान,युपिएस १ थान,इन्टरनेट हब १ थान,ल्यापटप १ थान,राउटर १ थान,बरामद गरिएको ब्युरोको भनाई छ ।
बरामद भएका उपकरण तथा सामग्रीहरूको प्राविधिक परीक्षण तथा डिजिटल फरेन्सिक विश्लेषण गरिरहेको जनाएको ब्युरोले जनाएको छ ।
अनुसन्धानका क्रममा ती उपकरणहरू अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मात्र नभई अनलाइन सट्टेबाजी तथा जुवासम्बन्धी वेबसाइट सञ्चालनमा समेत प्रयोग भएको देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्