अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गरेका छन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोजेका हुन् ।

जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिए । 

उनले भने, “अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमवार दिउँसोबाट शुरु हुनेछ । हर्मज जलसन्धि र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ ।”

राष्ट्रपति ट्रम्पले इरान स्वयंले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दाबी गरे ।

उनले थपे, “हामीले जुनसुकै बेला सैन्य कारबाही गर्न सक्थ्यौँ, तर तीन प्रमुख मुलुक र इरानको समेत आग्रहलाई ध्यानमा राखेर हामीले वार्तालाई प्राथमिकता दिएका हौँ ।”

यसअघि शनिबार साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए । सो क्रममा उनले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गर्दै यसबारे स्पष्टता माग गर्नुभएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

इरान र अमेरिकाबीच बढ्दो तनावलाई दृष्टिगत गर्दै पाकिस्तान, कतार, युएई, टर्की लगायतका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न अपिल गर्दै आएका छन् ।