काठमाडौँ । ९.९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना तत्काल सञ्चालनमा नआउने भएको छ ।
बाढीपहिरोका कारण क्षतिपुगेपछि असार २६ गतेदेखि बन्द रहेको आयोजना तत्काल सञ्चालनमा नआउने भएको हो ।
पाँचथरको इवाखोलामा रहेको आयोजना गत जेठमा अविरल वर्षपछि आएको बाढी र पहिरोले हेडरेस,पाइपलाइन रहेको क्षेत्रमा नदी कटान गरेर पाइपलाइनका आधार संरचनाहरू तथा अन्य सिभिल संरचनामा क्षति पुगेको थियो ।
निरन्तर वर्षा र सोबाट पाइपलाइन मुनिको भागहरू भूक्षय भएर पाइपलाइनमा अत्यधिक दबाब सिर्जना भइ विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको आयोजनाले जनाएको छ ।
मर्मत गरेर परीक्षण गर्दा पुन ः विभिन्न ठाउँमा पाइपलाइनमा समस्या देखिएपछि आयोजना तत्काल सञ्चालनमा नआउने भएको हो ।
आयोजनाले भनेको छ,“ परीक्षणका क्रममा पुन : विभिन्न स्थानमा पाइपलाइनमा क्षति देखिएकाले विस्तृत प्राविधिक मूल्याङ्कनपछि सामान्य मर्मत वा वेल्डिङबाट मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न सम्भाव नरहेको निष्कर्षमा पुगिएको छ ।”
आयोजनाले हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अवलोकन तथा मर्मत कार्य अगाढि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्