काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् ।
महासङ्घ अन्तगर्त रहेका २५ ओटा समितिमध्ये आज थप तीन ओटा समितिले पूर्णता पाएका हुन् । यसअघि आठओटा विषयगत समितिले पूर्णता पाएका थिए ।
पछिल्लो पटक महासङ्घका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वको बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समितिले पूर्णता पाएका हुन् ।
आज महासङ्घको सचिवालय, टेकु काठमाडौँमा आयोजित कार्यक्रममा पूर्णता पाएका समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासङ्घका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए ।
उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्न आग्रह गरे ।
“ महासङ्घका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो,” कार्यबाहक अध्यक्ष वैद्यले भने, “समितिहरूले निजी क्षेत्रका समस्या समाधानसँगै नयाँ सम्भावनाको खोजी, नीति निर्माणमा सहजीकरण र लगानी तथा व्यवसाय विस्तारका लागि वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।”
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासङ्घका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए ।
समितिहरूले आफ्नो क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाको अध्ययन गरी तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासङ्घमा पेश गर्नुपर्नेमा उनको जोड थियो । महासङ्घका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता अझ बलियो बन्ने बताए ।
सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताए । व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीहरूलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताए ।
पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण र निजी क्षेत्रको लगानी सुरक्षाका लागि समितिले निरन्तर पहल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्