काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने भएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको बैठक कार्यसूचीअनुसार सांसद भीमराज आङ्देम्बेले उक्त प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र स्थायी पुनःस्थापनाका लागि सरकारले प्रभावकारी व्यवस्था गर्नुपर्ने उल्लेख छ।
प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्नुपर्ने, उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको प्रत्याभूति दिनुपर्ने तथा वास्तविक भूमिहीन र सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने माग गरिएको छ।
उक्त प्रस्तावलाई सांसद ऐनबहादुर शाही, युवराज दुलाल र ओसिन राईले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी, बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्