अर्थमन्त्री वाग्लेको निष्कर्ष : केन्द्रीय बैंकले आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्छ


काठमाडौँ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आर्थिक सुधार र संरचनागत रूपान्तरणको अभियानलाई सफल बनाउन केन्द्रीय बैंकले आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वासको खोजीमा रहेको उल्लेख गर्दै व्यवसायीहरूले सहुलियतभन्दा स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहेको बताए ।

उनले पछिल्लो एक दशकका आर्थिक नीति तथा तिनको कार्यान्वयनको समीक्षा आवश्यक रहेको औंल्याउँदै नीतिगत निर्णयहरू अपेक्षित परिणाममा किन रूपान्तरण हुन सकेनन् भन्ने प्रश्न उठाए ।

निजी क्षेत्र किन प्रतिरक्षात्मक बन्दै गयो, लगानीको आत्मविश्वास किन कमजोर भयो, बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि उत्पादनशील क्षेत्रमा कर्जा किन पर्याप्त रूपमा प्रवाह हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट मार्गचित्रका रूपमा वर्णन गरे ।

उनले उक्त सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले कस्तो नीतिगत भूमिका खेल्ने भन्ने विषयमा खुला र गम्भीर छलफलको आवश्यकता औंल्याए ।

उनले भने “हामी समस्या समाधान गर्ने नियामक हौँ कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र ?” भन्ने प्रश्न आफैँसँग गर्न आग्रह गर्दै वर्तमान आर्थिक अवस्थालाई जोखिम व्यवस्थापनका दृष्टिले मात्र नभई अवसर सिर्जनाका दृष्टिले पनि हेर्नुपर्ने बताए ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकारका आर्थिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने उपाय, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने रणनीति, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण गर्ने उपायलगायत विषयमा सुझाव मागेका थिए ।

त्यसैगरी, मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने, डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणको विकासलाई सहज बनाउने विषयमा पनि उनले धारणा राख्न आग्रह गरे ।

उनले अब नियमनको उद्देश्य केवल नियन्त्रणमा सीमित नरही उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने दिशामा उन्मुख हुनुपर्ने बताए । “हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नमा गम्भीर समीक्षा आवश्यक छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले नीतिगत आत्मविश्वास नै अहिले देशको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र सबैमा आत्मविश्वास र स्पष्टता भए आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने बताए ।

प्रधानमन्त्रीले सरकारले आर्थिक सुधारका लागि आवश्यक कानुनी संशोधन, संस्थागत सुधार तथा कार्यान्वयनलाई तीव्रता दिइरहेको जानकारी दिँदै मौद्रिक क्षेत्रबाट पनि समान प्रतिबद्धता, स्पष्टता र गति अपेक्षा गरिएको बताए ।

नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा हेर्न चाहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले छलफलमा उठेका सुझावहरूलाई कार्ययोजनामा रूपान्तरण गरिने बताए।

आवश्यक परे संयुक्त कार्यदल गठन गर्ने, नीतिगत समन्वयलाई संस्थागत गर्ने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले सुधारका लागि राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्वको आधार र निजी क्षेत्रको तयारी जस्ता सकारात्मक पक्षहरू अहिले उपलब्ध रहेको उल्लेख गर्दै सबै सरोकारवाला एकै दिशामा अघि बढे नेपालको आर्थिक रूपान्तरण कार्यान्वयनको चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।