भ्रामक प्रचार गरेको आरोपमा डाबर इन्डियामाथि कारबाही,खाद्य उत्पादन सामाग्रीको बिक्री रोक्न आदेश


काठमाडाैँ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले डाबर इन्डिया लिमिटेडलाई आफ्ना उत्पादनहरूमा भ्रामक ‘१०० प्रतिशत’ दाबी गरेको भन्दै ती खाद्य वस्तुहरूको बिक्री रोक्न आदेश जारी गरेको छ।

कम्पनीले मह, एप्पल साइडर भिनेगर, भर्जिन नरिवलको तेल, तिलको तेल, गाईको घिउ, नरिवलको पानी र नरिवलको दुध जस्ता उत्पादनहरूमा असत्य तथा भ्रमपूर्ण प्रचार गरेको नियमनकारी निकाय एफएसएसएआईले जनाएको छ।

प्राधिकरणका अनुसार डाबरले आफ्नो आधिकारिक वेबसाइटमार्फत बिक्री भइरहेका उत्पादनहरूमा ‘१००% प्राकृतिक’, ‘१००% शुद्ध’, ‘१००%शुद्धताको ग्यारेन्टी’ , ‘१००% अर्गानिक’ र ‘१००% कलिलो नरिवलको पानी’ जस्ता अस्पष्ट र अप्रमाणित दाबीहरू गरेको पाइएको छ।

यस्ता दाबीहरू एफएसएस (विज्ञापन र दाबी) नियमावली, २०१८ को प्रत्यक्ष विपरीत रहेको र यसले उपभोक्ताहरूलाई भ्रममा पार्ने एफएसएसएआईको ठहर छ।

यसैगरी ‘डाबर हिमालयन अर्गानिक एप्पल साइडर भिनेगर’ र ‘डाबर अर्गानिक मह’ मा आधिकारिक एपएसएसएआई जैविक स्वीकृति विना नै ‘जैविक भारत’को लोगो प्रयोग गरिएको पाइएको छ, जुन एफएसएस (अर्गानिक फुड्स) नियमावली, २०१७ को उल्लङ्घन भएको एफएसएसएआईको भनाइ छ।

त्यसैगरी प्राधिकरणका अनुसार मिश्रित खाद्य पदार्थको श्रेणीमा पर्ने ‘डाबर होममेड नरिवलको दुध’ मा ‘१००% शुद्धता’ को दाबी गरिएको भेटिएको छ, जुन प्रचलित कानुन अनुसार गर्न पाइँदैन।

यसअघि पनि यस्ता भ्रामक दाबीहरू हटाउन पत्राचार गरिएको भए तापनि कम्पनीका तर्फबाट कुनै सन्तोषजनक सुधारात्मक कदम नचालिएकाले यो कडा कदम चालिएको प्राधिकरणले स्पष्ट पारेको छ।

एफएसएसएआईले डाबर इन्डिया लिमिटेडलाई सूचनामा तोकिएका तथा अन्य सबै भ्रामक दाबी गरिएका खाद्य वस्तुहरूको बिक्री तत्काल रोक्न आदेश दिँदै १५ दिनभित्र कारबाही प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

नेपालमा पनि ‘डाबर नेपाल’ले यस्ता खाद्य सामाग्री बिक्री गर्दै आएको छ ।