काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले व्यहोर्नुपरेको सम्भावित आर्थिक तथा कृषि क्षतिको समेत विस्तृत हिसावकिताव गर्नुपर्ने बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजश्वमा भएको नोक्शानीको मात्र हिसाव गरेर नपुग्ने बताएका हुन् । आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।
उनले आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिंचाई हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयमा प्रश्न उठाए ।
झाले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत अध्ययन हुनुपर्ने बताएका छन् ।
आयोजना रोकिँदा आगामी दिनमा पनि कति खेती सिंचाईबाट वञ्चित हुने र त्यसबाट कति क्षति पुग्नेछ भन्ने हिसाब निकाल्नुपर्ने उनको भनाइ छ ।
उनले २०८२ साल कात्तिक २५ गते बिड क्यान्सिल गरिएको विषय उठाउँदै पहिल्यै बिडिङ प्रक्रिया पूरा भई निर्माण कार्य अघि बढेको र टनेल ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया परिवर्तन गरेर किन लागू गरियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।
झाले आयोजना रोक्ने वा रद्ध गर्ने निर्णयमा राजनीतिक पूर्वाग्रह राखिएको हो वा होइन भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
भविष्यमा कुनैपनि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्ध गर्ने अवस्था आउन नदिन यस्ता निर्णयको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।
उनले आयोजनाको लागत र क्षतिको मूल्याङ्कन गर्दा राज्यकोषमा भएको आर्थिक नोक्शानीलाई मात्र आधार बनाउन नहुनेमा जोड दिए । झाले किसानले सिंचाई सुविधा नपाउँदा गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरको समेत मूल्याङ्कन गर्नुपर्ने बताए ।
उनकाअनुसार आयोजनामा भएको ढिलाइ वा ठेक्का रद्ध हुँदा राज्यकोषमा परेको असरका साथै प्रत्यक्ष रूपमा प्रभावित किसानले व्यहोरेको क्षतिको पनि लेखाजोखा हुनुपर्छ ।
सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आयोजनासम्बन्धी थप अध्ययन तथा छानबिनका लागि सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । झाले किसानले बेहोरेको क्षतिसमेत समेटेर अध्ययन गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिले लिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्