नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सञ्चालन आम्दानीमा सुधार र कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट) खर्चमा उल्लेख्य कमी आएपछि खुद नाफामा बलियो वृद्धि हासिल गरेको हो।
समीक्षा अवधिसम्म बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी ९प्रिफरेन्स सेयरसहित० ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ। सञ्चित मुनाफा ३४।०७ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने कुल जगेडा कोष ११.८२ प्रतिशतले वृद्धि भएर ३४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
बैंकमा ग्राहक निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै कर्जा तथा सापटी १२ प्रतिशतले वृद्धि भई ४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब रुपैयाँ पुगेको छ। कर्मचारी खर्च ५.३५ प्रतिशतले बढेर ५ अर्ब ३१ करोड रुपैयाँ पुगे पनि इम्पेयरमेन्ट चार्ज ३६.२८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। यही कारण बैंकको सञ्चालन नाफा र खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।
नियामकीय समायोजन तथा विनियोजनपछि बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४।०७ प्रतिशतले बढी हो।
वित्तीय सूचकतर्फ बैंकको पूँजी पर्याप्तता अनुपात ११.८१ प्रतिशतबाट बढेर १२.३७ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ, जसले सम्पत्ति गुणस्तरमा सुधार भएको संकेत गर्छ। त्यस्तै, लागत कोष पनि ४.४१ प्रतिशतबाट घटेर ३.०९ प्रतिशतमा झरेको छ।
यस्तै अघिल्लो वर्षको, ३४.१३ रुपैयाँ रहेको प्रति सेयर आम्दानी घटेर २७.७४ रुपैयाँमा आएको छ। प्रति सेयर नेटवर्थ २४७.२८ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्