ईपीएस रोस्टर छोट्याउने तयारीमा सरकार


काठमाडौँ । वैदेशिक रोजगारअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) मा उम्मेदवारले लामो समयसम्म रोस्टरमा बस्नुपर्ने अवस्थाको पुनरावलोकन गर्ने तयारी सरकारले गरेको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रम मन्त्रालयका सचिव डा. दीपक काफ्लेले आवश्यकभन्दा धेरै उम्मेदवार छनोट गर्ने वर्तमान अभ्यासका कारण युवामा मनोवैज्ञानिक दबाब बढेको भन्दै अब आवश्यक संख्याभन्दा थोरै मात्र बढी उम्मेदवार छनोट गर्ने विकल्पबारे छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार ईपीएसअन्तर्गत रोजगारदाताले नै अन्तिम उम्मेदवार छनोट गर्ने भएकाले सरकारको छनोट प्रक्रियामा कुनै भूमिका छैन। श्रममन्त्री रामजी यादवले पनि ईपीएस प्रणाली पूर्ण रूपमा पारदर्शी रहेको दाबी गर्दै यसमा कुनै प्रकारको अनियमितता वा लुपहोल नभएको बताए।

साथै, वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था ल्याउने तयारी भइरहेको र विभागमा उजुरी फर्स्योटका लागि थप १० जना अधिकृत परिचालन गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ।