स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित ६ जनाको खाता रोक्का,पक्राउ पुर्जी जारी



काठमाडौँ । स्मार्टसेलको ३५ अर्ब रुपैयाँ घोटालाको आरोप लागेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआइएमबी)का अध्यक्षसहित ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने खातासमेत रोक्का भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको पत्रपछि नेपाल राष्ट्र बैंकले एनआइएमबीका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, सञ्चालकहरू प्रणय राजभण्डारी, दीपकांकर शाक्य, कविकुमार तिव्रेवाला, शालिकराम बेलवासे र शोभा श्रेष्ठको बैंक खाताहरूको रोक्का गरेको हो ।

उनीहरूको खाता रोक्का भएको राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ ।

स्रोतले भन्यो, “हो ,उहाँहरूको व्यक्तिगत खाता रोक्का गरिएको छ । व्यक्तिरूपमा उहाँहरूको खाता रोक्का गरिएको हो । ” अध्यक्ष पाण्डेसहित छ सञ्चालकविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ ।

पक्राउ पुर्जीका बारेमा सिआइबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशमशेर जबराले भने केही उल्लेख गर्न चाहेनन् । उनले भने,“यो विषय अहिले मेरो जानकारीमा छैन ।”

ब्युरोले ६ जनाकै नाममा अदालतबाट पक्राउ पुर्जी समेत लिएको दैनिकी डटकमले उल्लेख गरेकाे छ ।

मदनकुमार आचार्यले स्मार्टसेल सम्बन्धी प्रकरणमा भएको बोर्ड बैठकमा सहभागिता जनाएर भत्ता समेत बुझेको रेकर्ड बैंकमा देखिए पनि उनी भने तत्कालका लागि पक्राउ पुर्जीबाट जोगिएका छन् ।

ब्युरोमा बयान दिएपछि सञ्चालक आचार्यविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन ।

स्मार्टसेलको ३५ अर्ब रुपैयाँ घोटलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकको निर्देशन र सर्वोच्चको फैसला विपरीत सरकारी सम्पत्ति लिलाम गरेको तथ्य भेटिको भन्दै अनुसन्धान चलिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले स्मार्ट टेलिकमका विषयमा अनुसन्धानका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसमेत पक्राउ परेका थिए । पछि उनी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

बैंकले बिना मूल्याङ्कन नै सरकारको नाममा आइसकेको सम्पत्ति स्वार्थ बाझिने गरी कानुन विपरित एनसेललाई बिक्री गरेपछि विवाद आएको हो । ऐनसेलले भने आफू विवादमा नपर्ने भन्दै पैसा फिर्ता गर्न आग्रह गर्दै बैंकलाई पत्र लेखेको थियो ।