कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घट्यो


काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २९.५२ प्रतिशतले घटेको जनाएको छ। खराब कर्जा बढ्नुका साथै खराब कर्जा र व्यवस्थापन (इम्पेयरमेन्ट) खर्चमा उल्लेख्य वृद्धि भएपछि बैंकको नाफा दबाबमा परेको हो।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशतले कम हो। सञ्चालन नाफा पनि २४।३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको चुक्ता पुँजी २।३३ प्रतिशतले बढेर १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यसमध्ये साधारण सेयर पुँजी ३।२५ प्रतिशतले बढेर १४ अर्ब ३० करोड ५५ लाख रुपैयाँ पुगेको छ भने अपरिवर्तनीय प्राथमिक सेयर ५ अर्ब ४३ करोड २७ लाख रुपैयाँमै स्थिर रहेको छ।

सञ्चित मुनाफा ५५।१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा झरेको छ। यद्यपि, जगेडा कोष ८.४४ प्रतिशतले बढेर १७ अर्ब ९० करोड ५९ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी १६.२४ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। कर्मचारी खर्च ८.११ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ८६ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा ठूलो दबाब इम्पेयरमेन्ट चार्जमा देखिएको छ, जुन ८५.९१ प्रतिशतले बढेर १ अर्ब १७ करोड २७ लाख रुपैयाँ पुगेको छ।

नियामकीय समायोजन तथा विनियोजनपछि बैंकको वितरणयोग्य मुनाफा पनि ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

वित्तीय सूचकतर्फ बैंकको पूँजी पर्याप्तता अनुपात १३.९३ प्रतिशतबाट घटेर १३.२९ प्रतिशतमा आएको छ। निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ भने लागत कोष ३.८१ प्रतिशतबाट घटेर २.९७ प्रतिशतमा झरेको छ।

बैंकको प्रति सेयर आम्दानी २४.५९ रुपैयाँबाट घटेर १६.११ रुपैयाँमा आएको छ। प्रति सेयर नेटवर्थ पनि २३९.५१ रुपैयाँबाट घटेर २३३.९९ रुपैयाँमा सीमित भएको छ भने पिई रेसियो १९.१८ रहेको छ।