पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन शुरु गरेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्तिलाई तोड्दै ८० देखि १०० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले यस वर्ष पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नुमा विगतका केही नीतिगत निर्णय र निर्माण व्यवसायीका लागि प्रतिकूल समय मुख्य कारण रहेको उल्लेख गरे । विगतमा १ सय १८ अर्ब बराबरका ठेक्काहरू स्थगित हुनु र प्रक्रियागत ढिलाइले पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा खुम्चिएको उनको विश्लेषण छ ।

खर्चको गति बढाउन यसपटक तीनवटा मुख्य सुधार गरिएको अर्थमन्त्रीले जानकारी दिए । पहिलो, सम्बन्धित मन्त्रालयहरूले नै सिधै रकमान्तर गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि सानो रकमान्तरका लागि पनि अर्थ मन्त्रालयको अनुमति पर्खनुपर्ने झन्झटिलो प्रक्रियालाई हटाइएको छ ।

संसदबाट पारित नयाँ खरिद ऐनमार्फत निर्माण व्यवसायलाई द्रुत गतिमा अघि बढाउन सहजीकरण गरिएको छ । मध्यमकालीन खर्च खाका (एमटीइएफ) मार्फत तीन वर्षको स्रोत सुनिश्चितता गरी ठूला ठेक्काहरू एकैपटक लगाउन सक्ने सुविधा दिइएको मन्त्री वाग्लेले बताए । 

सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब राजश्व संकलनको लक्ष्य राखेको छ । अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन र बिलिङ संस्कृतिलाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत आकर्षक पुरस्कारको घोषणा गर्न लागिएको उनले बताए ।

राजश्वको दायरा फराकिलो बनाउँदा केही चुनौती देखिए पनि प्रविधिको प्रयोगमार्फत आन्तरिक स्रोत व्यवस्थापनमा जोड दिइने उनको भनाइ छ । विद्युतमा लगाइएको भ्याट र करका दरहरूबारे स्पष्ट पार्दै अर्थमन्त्रीले यो प्रणाली सुधार र लेखांकनका लागि ल्याइएको बताए ।

विमानस्थलको स्क्यानर मेसिन खरिद र अन्य भन्सार उपकरणको प्रसङ्गमा मन्त्री वाग्लेले कर्मचारी संयन्त्रमा रहेको ‘जोखिम लिन डराउने’ प्रवृत्तिको चर्चा गरे । ऐन र नियमअनुसार काम गर्दा पनि कानुनी झमेलामा परिने डरले कर्मचारीहरू ठूला खरिद प्रक्रियामा सहभागी हुन हच्किएको उनको तर्क छ ।

असल नियतले काम गर्ने कर्मचारीलाई संरक्षण दिने वातावरण निर्माण गरी आधुनिक प्रविधिको उपयोगमार्फत भन्सार र राजश्व प्रशासनलाई सुदृढ बनाइने उनले बताए । 

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति सजग रहन आग्रह गर्दै उनले आधिकारिक र ‘ब्लु टिक’ भएका सामाजिक सञ्जाल ह्याण्डलहरू मात्र विश्वास गर्न समेत अनुरोध गरे ।