काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मोरलाई आज धरौटीमा रिहा गर्न आदेश दिएको हो । मोर १ करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेर रिहा भएका छन् ।
आदेशमा भनिएको छ“मुद्दा पर्पक्ष गर्ने भन्ने सम्बन्धमा विचार गर्दा, प्रतिवादी मोरले अदालतसमक्ष बयान गर्दा आरोपदाबी अनुसारको कसुरजन्य कार्य आफूले नगरेको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि मिसिल संलग्न उजुरी र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको बीचमा रहेको कारोबारको विवरण, हिमालयन रि–इन्सुरेन्स लि. र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबीच भएको शेयर कारोबारको विवरणमा उनको संलग्नता देखियो । शेयर बिक्रीको कारोबार गरेको स्वीकार गरी मोरले क्रेष्ट माइक्रो कम्पनीको सञ्चालक अध्यक्ष रहेको र सो कम्पनीले पनि भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग शेयर कारोबार गरेको देखिएको छ ।”
अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल एक करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारिखमा राख्न विशेष अदालतले आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले मोरविरुद्ध ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनी क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको अध्यक्षसमेत थिए ।


प्रतिक्रिया दिनुहोस्