काठमाडाैँ । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोतर्फ गइरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले युवाहरुलाई विदेश पठाउने नभई स्वदेशमै रोजगारी दिने प्रतिवद्धता जनाएको भएपनि सरकार गठनपछि युवा विदेशिने क्रम झनै बढेको आरोप लगाए ।
सरकारको सय दिनको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या अघिल्ला सबै रेकर्ड तोड्ने गरी बढेको उनले दाबी गरे । सरकारले विदेशिएका एक जना युवालाई समेत स्वदेश फर्काएर रोजगारी दिन नसकिएको उनको आरोप छ ।
उनले सरकारले सञ्चारमाध्यमलाई तर्साउने प्रयास गरेको आरोप पनि लगाए । सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरिरहेको उनकाे आरोप छ । उनले अस्पताल तथा स्वास्थ्य संस्थामा औषिधको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेकोप्रति सरकारको ध्यानाकर्षण समेत गराए
उनले भने, “हामीलाई सरकार चलाउन दिनुस् युवा विदेशिने होइन, विदेशमा गएका युवाहरुलाई यहीँ रोजगारी दिन्छौँ भनियो । अहिले त विदेश पलायन हुने कुराको पहिलेको सबै रेकर्डहरु ब्रेक भइसकेका छन् । विदेशिनेको संख्या पहिलेको तुलनामा बढेको छ । एक जनालाई पनि फिर्ता ल्याएर कामकारबाही र रोजगारी दिन सकेको अवस्था छैन । यहाँसम्म कि मिडिया हाउसलाई समेत तर्साउने काम भयो । राष्ट्र बैंकको स्वयत्ततामाथि प्रहार भयो । अस्पताल जाने हो भने सर्पदंशको औषधि, रेबिजविरुद्धको भ्याक्सिनको हाहाकार छ । विद्युत महशुलमा समेत कर लगाउँदा महंगी एकदमै आकासिएको अवस्था छ । यो सरकारको सय दिनको उपलब्धि हो । किसान आजपनि रासायनिक मल लिनको लागि लाइनमा बस्नुपर्ने अवस्था छ । अहिले प्रतिपक्षकाभन्दा सत्तापक्षकै माननीयज्यूले पनि त्यही कुरा उठाउनुभएको छ । यो कुरा अनुभूत गर्नुभएकोमा धन्यावाद दिन चाहन्छु ।”
सरकारले विद्युत महशुलमा समेत कर लगाउँदा महँगी बढेको उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्