काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताए । कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको उनकाे भनाइ छ ।
उनले संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए । ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनको भनाइ छ ।
उनले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए । राष्ट्रिय यातायात नीति २०८३ मा सुधारका विषय समेटिएकोले अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए ।
उनले ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भएपनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको गजुरेलले स्पष्ट पारे । जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने उनको भनाइ छ ।
उनले ट्राफिक नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । काठमाडौँलगायत विभिन्न ठाउँमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुँने उल्लेख गर्दै उनले ट्राफिक प्रहरीलाई जनचेतनामुलक कार्यक्रम देशभर संचालन गर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्