काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले प्रतिवद्धता जनाएपनि त्यसको कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । उनले बिटुमिन, डिजेल तथा पेट्रोलको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू काम रोक्ने अवस्थामा पुगेको बताए । बिटुमिनको मूल्य करिव २०० प्रतिशतसम्म बढेको उनको भनाइ छ ।
निर्माण व्यवसायीहरूले मूल्यवृद्धिको समस्या समाधान नभएसम्म काम अघि बढाउन नसकेको उनले बताए । निर्माण व्यवसायीले काम नगरेको अवस्थामा ठेक्का तोड्न कानुनले स्पष्ट व्यवस्था गरेपनि सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको उनको भनाइ छ ।
उनले रुकुम र जाजरकोट जोड्ने मध्यपहाडी सडकअन्तर्गतको एउटा पुल १४ वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको उदाहरण दिँदै सरकारको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाए । शर्माले समस्या भएको स्थानमा पुगेर समाधान खोज्नुपर्नेमा सम्बन्धित मन्त्रीसमेत समस्या छल्दै अन्यत्र गएको आरोप लगाए ।
कानुनी तथा नीतिगत समस्या भएमा त्यसलाई समाधान गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्