-डा. आलोककुमार बोहरा
बौद्धिक यात्राहरू कसरी सुरु हुन्छन्, सोच्दा पनि अचम्म लाग्छ। डा. देवेन्द्रराज पाण्डेसँगको मेरो साक्षात्कार दुई दशकअघि काठमाडौँको ‘माईक्स ब्रेकफास्ट’ मा बिहानको खाजा गफबाट सुरु भएको थियो। त्यतिबेला म उत्तरभन्दा बढी कौतूहल, धारणा र तर्कहरू बोकेर उहाँकहाँ पुगेको थिएँ। उहाँको उदारता यस्तो थियो कि मेरा आलाकाँचा विचारहरूलाई पनि उहाँले निकै गम्भीर भएर सुनिदिनुभयो।
त्यासपछि सुरु भएको त्यो बिहानी संवाद शृङ्खलाबद्ध बन्दै गयो। वर्षौँसम्म पनि नेपालको सन्दर्भमा उब्जिएका कुनै नयाँ अवधारणालाई आकार बनाउनु पर्दा डा. पाण्डे मेरा लागि सबैभन्दा निष्पक्ष र भरपर्दो वैचारिक कसी बन्नुभयो।
डा. देवेन्द्रराज पाण्डेको अवसानपछि उहाँको असाधारण जीवन र योगदानलाई सम्झिँदै देश-विदेशबाट श्रद्धाञ्जलीको ओइरो लागिरहेको छ। धेरैले उहाँलाई निष्ठा र सिद्धान्तका अगाडि पद र प्रतिष्ठा सहजै त्याग्न सक्ने एउटा स्वाभिमानी प्रशासकका रूपमा सम्झिएका छन्। कसैका लागि उहाँ निरङ्कुशताविरुद्ध उभिने निडर लोकतन्त्रवादी हुनुहुन्थ्यो भने कसैका लागि भ्रष्टाचारविरोधी अभियान्ता र नेपालको नागरिक आन्दोलनको बलियो खम्बा। कतिपयले उहाँलाई वैदेशिक सहायतामाथिको अति-निर्भरतालाई चुनौती दिने खरो अर्थशास्त्रीका रूपमा पनि मूल्याङ्कन गरेका छन्।
यी सबै श्रद्धाञ्जलीका भावाहरू उहाँको बहुआयामिक व्यक्तित्वका अगाडि पूर्णतः न्यायोचित नै मान्न सकिन्छ।
तर। म भने यी सार्वजनिक परिचयभन्दा अलि भिन्न डा. पाण्डेलाई सम्झिन चाहन्छुजसलाई मैले विगत दुई दशकभन्दा बढी समयदेखि नजिकबाट बुझ्ने अवसर पाएँ। क्रमिक रुपमा नेपालको विकास र सुशासनतिर मोडिरहेको मेरो आफ्नै प्राज्ञिक यात्रामा उहाँ मेरा लागि विचार परिमार्जन गर्ने एक भरोसायोग्य बौद्धिक अभिभावक हुनुहुन्थ्यो।
उहाँको व्यक्तित्वमा मलाई सबैभन्दा बढी तानेको कुरा केवल उहाँको इमानदारी मात्र थिएन, बरु नयाँ विचारहरूलाई कुनै राजनीतिक लेपन वा आग्रह-पूर्वाग्रहको चश्मा नलगाई ध्यानपूर्वक सुन्न सक्ने उहाँको अद्भुत खुलापन थियो।
वैचारिक मन्थनका आधारस्तम्भ
उहाँसँगको मेरो पहिलो अर्थपूर्ण संवाद मुलुक माओवादी सशस्त्र द्वन्द्वको भुमरीमा फसिरहेका बेला माईक्स ब्रेकफास्टमै भएको थियो। त्यतिबेला म विद्रोहका भित्री सामाजिक-आर्थिक कारणहरूबारे गम्भीरतापूर्वक मन्थन गरिरहेको थिएँ। द्वन्द्वको दिगो समाधान अधिकारको विकेन्द्रीकरण वा प्रत्यायोजन हुनसक्छ कि भन्ने मेरो बुझाइ थियो, जसलाई मैले एक किसिमको ‘विकास सङ्घीयता’का रूपमा अघि सार्न खोजेको थिएँ। तत्कालीन पाँच विकास क्षेत्रहरूलाई नै आधार बनाएर सङ्घीय संरचना खडा गर्न सकिन्छ कि भन्ने अवधारणा मेरो मनमा अङ्कुराउँदै थियो।
डा. पाण्डेले मलाई यस अवधारणामा अझ गहिरिएर काम गर्न हौसला दिनुभयो। किनभने, उहाँ त्यतिबेला चर्चामा रहेका जातीय पहिचानमा आधारित सङ्घीयताका प्रस्तावहरूप्रति निकै सशङ्कित हुनुहुन्थ्यो, जसमा आदरणीय भूगोलविद् तथा विचारक डा. हर्क गुरुङले अघि सार्नुभएको प्रस्ताव पनि समावेश थियो। त्यो बिहानको खाजा गफकै परिणति स्वरूप पछि मैले एक प्राज्ञिक पुस्तकको अध्याय र केही लेखहरू प्रकाशित गरेँ। त्यसमा मैले प्रत्यक्ष निर्वाचित प्रादेशिक सरकार र समानुपातिक-मिश्रित निर्वाचन प्रणाली जस्ता विकेन्द्रीकृत संयन्त्रमार्फत माओवादी द्वन्द्वको समाधान पहिल्याउन सकिने तर्क अघि सारेको थिएँ।
त्यसपछिका हाम्रा विचार-मन्थन ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल’ को सभाहल र परिसरमा निरन्तर चलिरहे। युनिभर्सिटी अफ न्यू मेक्सिको फर्केपछि तिनै छलफलहरूले थुप्रै प्राज्ञिक शोधपत्रको रूप लिए।
वर्षौंसम्म जब जब मेरो दिमागमा कुनै नयाँ अवधारणा आउँथ्यो, त्यसलाई अगाडि बढाउनुअघि म उहाँकै शरणमा पुग्थेँ।
अघि नै उल्लेख गरेझैँ, मेरो त्यस्तै एउटा अवधारणा थियो, ‘विकास सङ्घीयता’। करिब दुई दशकअघि नेपालमा सङ्घीयताको बहस जातीय पहिचान र सीमाङ्कनको घेरामा मात्रै घुमिरहेको थियो। मैले जातीय सीमाङ्कनको सट्टा प्राकृतिक तथा आर्थिक क्षेत्रहरू उदाहरणका लागि नदीनाला, प्राकृतिक स्रोत, कृषि, पूर्वाधार र विकास योजनाहरूलाई आपसमा जोड्ने गरी सङ्घीय संरचना बनाउनुपर्छ भन्ने तर्क राखेको थिएँ। डा. पाण्डेले यसपछाडिको अर्थशास्त्रीय तर्कलाई बुझ्नुभएको थियो।
उहाँ मेरो प्रस्तावका हरेक सानातिना विवरणसँग शतप्रतिशत सहमत नभए पनि यसले केवल राजनीतिक सिमाना कोर्ने होइन, विकासको मूल गाँठो फुकाउने प्रयास गरेको छ भन्ने कुराको कदर गर्नुहुन्थ्यो। उहाँको त्यो प्रोत्साहन मेरा लागि निकै अर्थपूर्ण थियो।
केही वर्षपछि, मैले उहाँसँग अर्को एउटा प्रस्तावबारे सल्लाह मागेँ— त्यो थियो शिक्षा कोषका लागि समर्पित “५ + १०” को हानिकारक वस्तु कर (सिनट्याक्स)। यो विचार माओवादी द्वन्द्वको उत्कर्षका बेला उब्जिएको थियो, जब निजी विद्यालयहरू लगातार घेराबन्दी, धम्की र आक्रमणको निसानामा परिरहेका थिए। म यस्तो संयन्त्रको खोजीमा थिएँ जसले निजी शिक्षा वरपरको सामाजिक-राजनीतिक तनाव घटाउँदै सर्वसाधारणका लागि गुणस्तरीय शिक्षाको अवसर फराकिलो बनाउन सकोस्।
उहाँको प्रतिक्रिया केवल निजी शिक्षा छनोटको अधिकार जोगाउने वा स्रोत कसरी बाँड्ने भन्नेमा मात्र सीमित रहेन; उहाँले उही समयमा सार्वजनिक (सरकारी) शिक्षा प्रणालीलाई पनि कसरी सबल बनाउने भन्ने कुरामा विशेष जोड दिनुभयो। यहाँ पनि उहाँले परम्परागत ढर्राभन्दा फरक विचार भएकै कारण यसलाई खारेज गर्नुभएन, बरु यसको संस्थागत तर्कलाई गम्भीरतापूर्वक लिनुभयो। उहाँलाई सस्ता नारामा कहिल्यै रुचि भएन; उहाँ सधैँ उत्प्रेरणा, संस्थागत ढाँचा र कार्यान्वयनको पक्ष कसरी जोडिएका छन् भन्ने गहिराइ बुझ्न चाहनुहुन्थ्यो।
आकाशबाट होइन, धरातलबाट देखिन्छ विकास
उहाँले मलाई सुनाउनुभएका अनेकौँ प्रसङ्गहरूमध्ये एउटा घटना भने मेरो मानसपटलमा सधैँका लागि गहिरोसँग कोरिएको छ।
अर्थ सचिव छँदा उहाँ राप्ती क्षेत्रमा सञ्चालित एकीकृत विकास परियोजनाको निरीक्षणका लागि आएको विश्व बैंकको टोलीसँग जानुपर्ने भयो। विदेशी विज्ञहरूले हेलिकप्टरबाट आयोजनाको सरसर्ती निरीक्षण गर्ने योजना बनाएका रहेछन्। डा. पाण्डेले हेलिकप्टर छाडेर गाडी वा पैदल हिँड्न तयार नभएसम्म टोलीसँग जान नम्रतापूर्वक अस्वीकार गरिदिनुभयो।
उहाँको तर्क सरल तर अकाट्य थियो, “विकासलाई आकाशबाट वा हावाबाट हेरेर बुझ्न सकिँदैन।” यदि कसैले साँचो अर्थमा आयोजनाको मूल्याङ्कन गर्न चाहन्छन् भने उनीहरूले गाउँ-बस्ती, गोरेटो बाटो, गरिबी र ती दैनिक यथार्थहरू आफ्नै आँखाले हेर्नुपर्छ, जसलाई रूपान्तरण गर्न विकासका बजेटहरू छुट्याइएका हुन्छन्। कागजी प्रतिवेदन र धरातलीय यथार्थबीचको खाडल बुझ्न उनीहरूले धुलो र हिलोमा गोडा टेक्नैपर्छ।
पछाडि फर्केर हेर्दा मलाई महसुस हुन्छ, यो कथा एउटा आयोजना निरीक्षणको साधारण प्रसङ्ग मात्र थिएन। यो त समग्र सार्वजनिक नीतिकै एउटा जीवन्त दर्शन थियो। असल विचारहरूको जन्म जमिन टेकेर हिँड्दा मात्र हुन्छ। संस्थाहरू कागजी प्रतिवेदनका आधारमा होइन, धरातलीय यथार्थका आधारमा डिजाइन गरिनुपर्छ। काठमाडौँका मेयर बालेन शाह वा भावी सरकारका प्राविधिक (टेक्नोक्र्याट) टोलीका लागि यसमा सिक्नुपर्ने धेरै गम्भीर पाठहरू छन्।
“आफ्नो कर्तव्य पूरा गर्नुहोस्”
उहाँले सुनाउनुभएको अर्को प्रसङ्गले उहाँको चरित्रको अर्कै निष्ठावान् आयाम उजागर गर्छ।
राजा वीरेन्द्रको जापान भ्रमणपछि फर्कने क्रममा डा. पाण्डेले के देख्नु भयो भने, भन्सार जाँच छलछाम गर्न कतिपय वरिष्ठ प्रशासकहरूले आफ्ना निजी सामानहरूमा समेत ‘नारायणहिटी’ को ट्याग झुन्ड्याएका रहेछन्। यो बेथिति देखेर चुपचाप बस्नुको साटो उहाँ सीधै राजा वीरेन्द्रकहाँ पुग्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, यदि राजाबाट सबैका लागि भन्सार छुटको स्पष्ट आदेश भएको छैन भने आफूले श्री ५ का सामान र अन्य प्रशासकहरूहरूको सामान अलग-अलग गरी नियमअनुसार भन्सार महसुल असुल गर्नेछु ।
राजा वीरेन्द्रले मुस्कुराउँदै संक्षिप्त उत्तर दिनुभयो- “तपाईँ आफ्नो कर्तव्य पूरा गर्नुहोस्।”
डा. पाण्डेले ठ्याक्कै त्यही गर्नुभयो।
त्यहाँ कुनै ठूलो टकराव भएन, न त कुनै नैतिक सस्तो लोकप्रियता वा सार्वजनिक नाटक नै मञ्चन गरियो। त्यहाँ त केवल एउटै निष्ठा थियो, संस्थाहरू पहुँच वा पदका आधारमा होइन, नियम र पद्धतिअनुसार चल्नुपर्छ। डा. पाण्डेका लागि निष्ठा र इमानदारी कहिल्यै देखावटी नाटक थिएन; त्यो त उहाँको प्रशासनिक आचरण र जीवनपद्धति थियो।
राजनीतिक पूर्वाग्रहभन्दा माथि
डा. पाण्डे पञ्चायत कालमा अर्थमन्त्री रहनुभएका र राजदरबारनिकट मानिने अर्का प्रख्यात अर्थशास्त्री डा. भेषबहादुर थापासँगको आफ्नो सम्बन्धलाई पनि निकै आदरका साथ सम्झिनुहुन्थ्यो। उहाँहरूको राजनीतिक विचार र निष्ठा बिलकुलै फरक थियो। तर पनि अर्थ मन्त्रालयमा डा. थापाको मातहतमा काम गर्दाका दिनहरूलाई डा. पाण्डेले सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुभयो।
डा. थापाले नै आफूलाई अमेरिकामा उच्च शिक्षाका लागि जान प्रोत्साहित गरेको र काममा ठूलो व्यावसायिक स्वायत्तता दिएको प्रसङ्ग उहाँ सुनाउनुहुन्थ्यो। उहाँले डा. थापालाई एक निष्पक्ष र अत्यन्त क्षमतावान् मन्त्रीका रूपमा वर्णन गर्नुभएको थियो।
न्यु मेक्सिकोमा एकपटक घुम्न निस्कँदा उहाँले मलाई सुनाउनुभएको यो प्रसङ्ग मेरो मनमा गहिरोसँग गढ्यो। डा. पाण्डे सिद्धान्तका विषयमा कहिल्यै सम्झौता नगर्ने व्यक्ति हुनुहुन्थ्यो, तर मानिसको मूल्याङ्कन गर्दा उहाँले राजनीतिक विचार वा छापलाई कहिल्यै बाधक बन्न दिनुभएन। उहाँ कुनै राजनीतिक व्यवस्था वा प्रणालीको कडा विरोधी हुन सक्नुहुन्थ्यो, तर त्यही प्रणालीभित्र रहेर काम गर्ने कुनै व्यक्तिको क्षमता र निष्पक्षतालाई स्वीकार गर्न उहाँलाई कहिल्यै अप्ठ्यारो परेन।
जब दुई अर्थशास्त्रीबीच मतभेद भयो
यद्यपि, हरेक गम्भीर बौद्धिक व्यक्तित्वझैँ उहाँ पनि असहमतिभन्दा माथि हुनुहुन्नथ्यो।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनपछि मैले उहाँलाई युनिभर्सिटी अफ न्यू मेक्सिकोमा गणतन्त्रबारे सार्वजनिक व्याख्यान दिन आमन्त्रित गरेको थिएँ। हाम्रो ‘नेपाल अध्ययन केन्द्र’ को व्याख्यान शृङ्खलाअन्तर्गत, मैले पछि उहाँलाई त्यसलाई प्रकाशनका लागि लिखित रूप दिन अनुरोध गरेँ। मस्यौदा पुनरावलोकन गर्ने क्रममा, एउटा अंशमा पुगेर म टक्क रोकिएँ। मलाई लाग्यो, उहाँ केही माओवादी नेताहरूको प्रशंसामा अलि बढी नै उदार हुनुभएको छ।
मलाई उहाँको राजनीतिक आकाङ्क्षाप्रतिको सहानुभूतिले होइन, बरु राजनीतिक परिवर्तनका नाममा सर्वसाधारणको धनजनको क्षतिलाई ‘सहायक क्षति’का रूपमा सहजै स्वीकार गर्ने माओवादी नेतृत्वको सोचप्रति कुनै आलोचनात्मक टिप्पणी नहुनुले चिन्तित बनाएको थियो। मभित्रको अर्थशास्त्री र उदार लोकतन्त्रवादी दुवैले त्यो अति-उदारतालाई सजिलै स्वीकार गर्न सकेका थिएनन्।
अर्थशास्त्रीका रूपमा मेरो विश्वास के थियो भने समाजले प्रयोग, त्रुटि-सुधार र क्रमिक सुधारमार्फत आफ्ना संस्थाहरूको निर्माण गर्दै समृद्धि हासिल गर्छ। उता उदार लोकतन्त्रवादीका रूपमा, वर्षौँको हिंसात्मक द्वन्द्व र संविधानको पूर्ण विघटनबाट निर्मित व्यवस्थाले मात्रै टिकाउ लोकतान्त्रिक पद्धति दिन्छ भन्ने कुरामा म सधैँ सशङ्कित रहँदै आएको छु।
व्याख्यानपछि सान्डिया क्रेसतर्फ गाडीमा जाँदै गर्दा मैले यो विषय निकै सौहार्दपूर्ण ढङ्गले उठाएँ। हामीबीच यस विषयमा खुला छलफल भयो। केही समयपछि उहाँले मलाई परिमार्जित मस्यौदा पठाउनुभयो।
त्यो सानो प्रसङ्गले ममा चीरस्थायी छाप छाड्यो, उहाँले आफ्ना शब्दहरू बदल्नुभयो भनेर होइन, बरु उहाँ पुनःविचार र आत्मसमीक्षाका लागि सधैँ खुला हुनुहुन्थ्यो भनेर। बौद्धिक इमानदारीका लागि शतप्रतिशत सहमति आवश्यक पर्दैन; यसका लागि त केवल आफ्ना विचारहरूमा पुनरावलोकन गर्न सक्ने इच्छाशक्ति र खुलापन चाहिन्छ।
मैले सम्झिने डा. पाण्डे
धेरैले डा. देवेन्द्रराज पाण्डेलाई उहाँको साहस, निष्ठा, गणतान्त्रिक निष्ठा र उत्तरदायी सुशासनप्रतिको अविचलित प्रतिबद्धताका लागि सम्झिनेछन्। ती उपलब्धिहरू नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिइसकेका छन्।
तर म भने अलि शान्त र सौम्य रूपमा उहाँलाई सम्झिनेछु।
म एक यस्ता अर्थशास्त्रीलाई सम्झिनेछु, जसले अप्ठ्यारा प्रश्नहरूलाई सहर्ष स्वागत गर्नुभयो; जसले अरूका विचारलाई सिधै खारेज नगरी चुनौती दिनुभयो; जसले व्यक्तिभन्दा संस्थालाई सधैँ माथि राख्नुभयो; र जसले आफूभन्दा कान्छो सहकर्मीलाई गम्भीर विकास चिन्तन हेलिकप्टरको उडानबाट होइन, हाम्रा गोडाले टेकेको धरातलबाट सुरु हुन्छ भन्ने कुरा सधैँ स्मरण गराइरहनुभयो।
त्यसैले पछाडि फर्केर हेर्दा, मलाई महसुस हुन्छ, डा. पाण्डेको जुन कुराले मलाई सबैभन्दा बढी प्रभावित पारेको थियो, त्यो केवल उहाँको इमानदारी वा साहस मात्र थिएन। त्यो त उहाँको सोच्ने र चिन्तन गर्ने शैली थियो। उहाँ विचारहरूलाई धरातलीय यथार्थमा पर्गेल्न, तत्कालीन फेसनदार धारणाहरूमाथि प्रश्न उठाउन र निष्पट इमानदार संवादका लागि सधैँ तत्पर रहन रुचाउनुहुन्थ्यो। उहाँ प्रस्ट र खरो पनि हुनुहुन्थ्यो।
सतही टिप्पणी र तत्कालै तयार पारिने तयारी भाष्यहरूको आजको युगमा, उहाँको त्यो गुण सम्भवतः सबैभन्दा दुर्लभ सद्गुण थियो।
म डा. देवेन्द्रराज पाण्डेलाई सधैँ यसरी नै सम्झिरहनेछु।
(डा. आलोककुमार बोहरा युनिभर्सिटी अफ न्यू मेक्सिकोका अर्थशास्त्रका प्रोफेसर एमेरिटस हुनुहुन्छ। उहाँ कम्प्लेक्सिटी र इमर्जेन्स साइन्स (जटिलता र विकास विज्ञान) को दृष्टिकोणबाट नेपालको लोकतान्त्रिक विकासक्रमको स्वतन्त्र पर्यवेक्षकका रूपमा कलम चलाउनुहुन्छ। )


प्रतिक्रिया दिनुहोस्