दैलामा नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर)


काठमाडाैँ । ओसिएका काठका दलिनहरू र गोबरको चोखो लेपनमाथि श्रद्धापूर्वक टाँसिएको नागको चित्र । बिहानीपखको शङ्ख र घण्टीको मधुर गुञ्जन, अगरबत्तीको सुवासिलो धुवाँ र तामाको थालीमा सजिएको अक्षता–दुबोको स्पर्शले आज हरेक नेपालीको घरको दैलोलाई एउटा जीवन्त देवालयमा परिणत गरिदिएको छ ।

नेपाली समाजको माटोमा गडेको यो त्यो पर्व हो जहाँ भयलाई भक्तिमा, विषलाई अमृतमा र प्राकृतिक शक्तिलाई परिवारको अविभाज्य संरक्षकमा रूपान्तरण गरिन्छ। दैलोको पहरेदार:जब घर र आस्था एउटै बिन्दुमा जोडिन्छन् ।

बिहानको पहिलो किरणले धर्ती छुन नपाउँदै काठमाडौंका पुराना गल्लीहरूदेखि गाउँका माटोले लिपेका आँगनसम्म एउटै किसिमको चहलपहल शुरु छ । नुहाइधुवाइ गरी चोखो बनेका हातहरूले घरको मूलढोकाको माथिल्लो भागमा गाईको गोबरको सानो थुम्को लगाउँछन् र त्यसमाथि भक्तिभावका साथ नागको रङ्गीन तस्बिर टाँसिरहेका छन् । 

तस्बिरको शिरमा हरियो दुबो, रातो अक्षता, चामलको लावा र फूल सिउरिँदा लाग्छ–यो केवल एउटा कागजको पाना भित्तामा टाँसिएको होइन, पूर्खादेखि बग्दै आएको विश्वासको अविरल नदी घरभित्र भित्रिएको हो । दैलामा दियो बालेर जब घरमूलीले दुवै हात जोड्छन्, तब सिङ्गो परिवारले प्रकृतिको त्यो रहस्यमय शक्तिसामु शिर झुकाउँछ जसलाई हामी ‘नागदेवता’ भनेर पुकार्छौं । ‘दैलोमा टाँसिएको त्यो नागको चित्र केवल कला होइन, त्यो हाम्रा पूर्खाहरूले प्रकृतिसँग गरेको सुरक्षा र सहअस्तित्वको अनन्त सम्झौता हो ।’

हिन्दु सनातन दर्शनमा नाग केवल एउटा सरीसृप जीव मात्र होइन, सृष्टि सञ्चालनका अभिन्न अङ्ग र दिव्यताका प्रतीक हुन् । भगवान विष्णु जसको अनन्त शैय्यामा विश्राम गर्नुहुन्छ, ती शेषनाग हुन् जसले सिङ्गो पृथ्वीलाई आफ्नो फणामा धारण गरेका छन् । देवादिदेव महादेव जसलाई आफ्नो कण्ठको शोभा बनाउनुहुन्छ, ती वासुकी नाग हुन् ।

समुन्द्र मन्थनको त्यो ऐतिहासिक कालखण्डमा मन्दराचल पर्वतलाई मथ्नका लागि स्वयं वासुकी नागले डोरीको भुमिका निर्वाह गरी अमृत प्राप्तिमा योगदान दिएका थिए । नागहरूलाई पाताल लोकका अधिपति, भूगर्भका धनका रक्षक र वर्षा एवं जलका नियामक शक्ति मानिन्छ ।

पौराणिक मान्यताअनुसार नागपञ्चमीका दिन नागको विधिवत पूजा गर्नाले घरमा चट्याङ, बिजुली, अग्निभय र विषालु जीवहरूको भय रहँदैन । यसैकारण मूलढोकामा लेखिने विशिष्ट मन्त्रले घरलाई सबै प्रकारका आकाशीय र भूमिगत विपत्तिहरूबाट रक्षा गर्ने विश्वास गरिन्छ ।
हरेक घरको दैलो आज एउटा क्यानभास बनेको छ जहाँ रातो, नीलो, पहेँलो रङ्गमा अङ्कित आठवटा नागहरू प्रकृतिको रक्षाकवच बनेर मुस्कुराइरहेका छन् । 

उपत्यकाका प्रसिद्ध नागतीर्थहरू–टौदह, नक्शालको नागपोखरी, भक्तपुरको सिद्धपोखरी, धापासीको नागपोखरी तथा काभ्रेको पनौती र देशभरिका नाग मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।

देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड

वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ ।

नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ । धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ । आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ ।


तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल