काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेकाे प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गरे ।
मन्त्री यदवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । यसका लागि नयाँ राष्ट्रिय रोजगार नीति र राष्ट्रिय रोजगार प्रवद्र्धन ऐन निर्माणको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाई परिचालन गरेको मन्त्रीले उल्लेख गरे । उनकाअनुसार गुणस्तरीय सीप विकासका लागि ३९० घण्टाको तालिमलाई अनिवार्य गर्ने नीति लिइएको छ ।
चालु आर्थिक वर्षदेखि सातै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने र श्रम बजारको मागअनुसार ‘केयर इकोनोमी’ तथा डिजिटल रोजगारीका क्षेत्रमा करिव एक दर्जन कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।
यस्तै, ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय प्रशिक्षार्थी (अप्रेटेन्ससिप) कार्यक्रम, मागमा आधारित सिप विकास र सुकुम्वासी लक्षित सीपमूलक कार्यक्रम यसै वर्षदेखि थालनी गरिएको मन्त्रीको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप प्रमाणीकरण गरी उनीहरूको पुँजी र सिपलाई स्वदेशी उत्पादनसँग जोड्ने नीति सरकारले लिएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रणका लागि मन्त्रालयले ‘अपरेशन इलिगल एजेन्ट क्लिनअप’ एप र ‘उजुरी डट एफई डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रीका अनुसार श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाई दुई घण्टाभित्रै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सम्बन्धित दुतावास र वैदेशिक रोजगार बोर्डमार्फत समन्वय भइरहेको मन्त्रीले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्