काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गर्दै भदौ १ गते भव्य रूपमा ९औं वार्षिकोत्सव मनाएको छ। कम्पनीले यस अवसरलाई केवल उत्सवमा सीमित नराखी समाजप्रतिको जिम्मेवारी बोध गराउने विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरी विशेष बनाएको छ।
स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई मूल मान्यता बनाएको आइएमई लाइफले यो वार्षिकोत्सवमा पनि आफ्नो सामाजिक प्रतिबद्धता झल्कने क्रियाकलापहरूलाई प्राथमिकता दिएको हो।
वार्षिकोत्सवकै सिलसिलामा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण लगायतका बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
यसबारे कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल ले भने, “यी कार्यक्रमहरूको मुख्य उद्देश्य समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्त्वबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्नु हो।”
उनले रक्तदान कार्यक्रमले अस्पतालमा रगतको अभाव कम गर्न, वृक्षारोपणले वातावरण संरक्षण मा टेवा पुर्याउन, र खाद्यान्न वितरणले आर्थिक रूपले विपन्न परिवारहरूलाई राहत पुर्याउने विश्वास व्यक्त गरे।
वार्षिकोत्सवकै सन्दर्भमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) सँग सहकार्य सम्झौता ९ःयग्० गरेको छ। यस सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान गरी उत्पादन गरेको ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिने भएको छ।
‘न्यानो नानी’ भनेको समय नपुगी जन्मने वा कम तौलका नवजात शिशुहरूलाई आवश्यक तापक्रम उपलब्ध गराई तिनीहरूको जीवन बचाउन प्रयोग गरिने प्राविधिक चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधाबाट टाढा रहेका क्षेत्रहरूमा यो अत्यन्त उपयोगी साबित भइसकेको छ।
सहकार्यको पहिलो चरणमा आइएमई लाइफले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूलाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्दैछ। भौगोलिक विकटता, सीमित पूर्वाधार र न्यून पहुँचका कारण यी क्षेत्रमा नवजात शिशुहरूले स्वास्थ्य सेवाको ठूलो अभाव भोगिरहेको अवस्थामा यो सहयोगले शिशु मृत्युदर घटाउन र आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रमका क्रममा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले भने, “यो सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन साझेदारीको जग बसाल्नुका साथै नवजात शिशु स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत रूप दिएको छ।”
उनले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व ९ऋक्च्० नीतिअन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको र यसअघि पनि सामाजिक, स्वास्थ्य र शैक्षिक क्षेत्र मा निरन्तर योगदान गर्दै आएको स्मरण गराए। आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई अन्य प्रदेश र जिल्लाहरूमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए।
जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने, बीमा सुविधामार्फत ग्राहकको वित्तीय सुरक्षा बढाउने, र राष्ट्रको समग्र विकासमा योगदान पुर्याउने दूरगामी परिकल्पनाका साथ आइएमई लाइफले आफ्नो यात्रा थालेको हो।


प्रतिक्रिया दिनुहोस्